धनगढी : सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा ‘सुदूरपश्चिम प्रदेश दुग्ध विकास बोर्ड स्थापना र व्यवस्थापन गर्न बनेको विधेकयक २०७७’ पेश भएको छ। प्रदेशसभाको सामाजिक विकास समितिमा दफावार छलफल भई तयार पारिएको उक्त विधेयकको प्रतिवेदन समितिका सभापति कुन्ती जोशीले पेश गरेकी हुन्।
बैठक प्रारम्भ हुनासाथ ढ्यापढ्यापे समय लिएर प्रदेशसभा सदस्य शान्ति नेपालीले कञ्चनपुरको वेदकोट नगरपालिका–५ का वडाध्यक्ष साङ्घातिक आक्रमणबाट घाइते भएका कारण आक्रमणकारीलाई कानूनबमोजिम कारवाही गर्न ध्यानाकर्षण गराइन्।
यसैबीच प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापाले साविकको, नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूँतिएको घटनाले प्रदेश सभाको बैठक सञ्चालनमा अहिलेसम्म त्यस्तो कुनै प्रभाव नपरेको बताए। उनले भने, “विधेयक दर्ता भइरहेका छन्, अन्य प्रदेशमा प्रदेशसभाको बैठक नचलल्दा सुदूरपश्चिम प्रदेशसभाको बैठक नियमितरुपमा चलेको छ।”
