धनगढी, फाल्गुन १२/ व्यासको छांगरुमा सशस्त्र प्रहरी भवन निर्माणको कार्य अलपत्र परेको छ। गत असोज ९ गते गृहमन्त्री रामबहादुर थापा बादल नेतृत्वको टोलीले निकै तामझामसहित शिलन्यास गरेको सशस्त्र प्रहरीको पक्की भवन अलपत्र परेको हो। व्याँसको छाङ्गरुमा सशस्त्र प्रहरीलाई बाह्रै महिना बस्न मिल्ने गरी आधुनिक सुविधासम्पन्न भवन बनाउन थालिएको थियो। अत्याधुनिक सुविधासहितको ४० कोठे भवनको निर्माणकार्य गत मंसिर पहिलो सातादेखि अलपत्र छ।
भारतले अतिक्रमण गरेको कालापानी भन्दा झण्डै १४ किलोमिटर तल छाङरुमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मको अत्याधुनिक भवन निर्माण हुन लागेको हो। एक वर्षभित्रै भवन निर्माण सक्ने गरी कुल १० करोड रुपैयाँ लागतमा भवन निर्माणको काम शुरु गरिएको भएपनि अहिले निर्माण कार्य अलपत्र छ।
भवनको शिलन्यास लगत्तै निर्माण व्यवसायी सुरेश चन्दले दुई महिनाभित्रै भुईतला निर्माण गरेर सशस्त्र बस्न मिल्ने बताएका थिए। तर अहिलेसम्म भवनको जगमात्र राखिएको छ। दुई महिनाभित्रै बस्न मिल्ने गरी बनाउँछु भनेका निर्माण व्यवसायीले जगबाहेक केहि हाल्न सकेको छैन्। भवन निर्माणको लागि आवश्यक उपकरण, सामग्री जम्मा गरिएको छ, तर निर्माण कार्य मंसिर पहिलो साताबाटै रोकिएको छ, सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म दार्चुलाका डिएसपी धिरेन्द्र शाहले भने, व्यासी सौका समुदायको बसाई सराई सर्नु अगावै निर्माण व्यवसायी र मजदुरहरुले छांगरु छोडेका हुन्।
मंसिर पहिलो साता भवन निर्माणको जग हालेर फर्किएका निर्माण व्यवसायी अझै फर्किएका छैनन्, डिएसपी शाहले भन्नुहन्छ्, ठेकेदारलाई ताकेता लगाउँदा यहि फागुन अन्तिमसम्म जनशक्ति परिचालन गर्ने खबर आएको छ। भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपाली भूभाग अतिक्रमण वर्षभरी बस्न सक्ने गरी सैन्य अखडा स्थापित गरेको छ। सरकारले भारतले अतिक्रमण गरेका तीनवटै क्षेत्रलाई समेटेर आफ्नो राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेर उक्त क्षेत्रमा पछिल्ला दिनमा सुरक्षाकर्मी परिचालन गरेको छ।
पहिलो पटक सशस्त्र प्रहरी र नेपाल प्रहरीले छांगरुमा बसेको हो। बाह्रैमास सशस्त्र प्रहरी बस्ने भएपछि उनीहरुको लागि सुविधासम्पन्न भवन बन्न लागेको हो। तर भवन निर्माणमा भइरहेको ढिलाईले सशस्त्र प्रहरी गत वैशाखदेखि भाडाको घरमा बस्दै आएका छन्। विगतमा मंसिरदेखि हिमपात शुरु हुने गरेको थियो। तर यो वर्ष व्यासमा बढि हिमपात भएको छैन्। भएको ठाउँमा हिउँ पग्लि सकेको छ। अत्यधिक हिमपातका कारण यहाँका सौका समुदाय छ महिना सदरमुकाम खलंगा झर्ने गर्छन्। यो पटक थोरे कम हिमपातका कारण धेरै जाँडोको अनुभव भएन्, उनले भने, तै पनि हामीले आगो तापेर अहिलेसम्म ड्युटी गरेका छौ। भारतीय सुरक्षा पोष्टमा न्यानो हुन्छ, हाम्रोमा आगोले न्यानो बनाएका छौ। सरकारले गत वैशाख ३१ गते सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट राख्ने निर्णय गरेको थियो।
लगत्तै सरकारले नक्सा नै जारी गरेपछि असार २८ गतेको मन्त्रिपरिषद बैठकले व्यासमा बाह्रैमास सशस्त्र प्रहरीको गुल्म राख्ने निर्णय गरेको हो। सशस्त्र प्रहरीको भवन निर्माणको लागि स्थानीयले गागा क्षेत्रमा १५ रोपनी जग्गा सशस्त्रलाई दिएका हुन्। सशस्त्र प्रहरी बाह्रैमास बसेपछि यो क्षेत्रमा चोरी शिकारी नियन्त्रण, भारतले सहजै अतिक्रमण गर्नबाट जोगाउन सकिन्छ।