काठमाडौं । सरकारले हरेक स्थानीय तहका लागि एउटै मोबाइल एप ल्याएको छ । यसअघि ४३३ स्थानीय तहले छुट्टाछुट्टै एप सञ्चालन गरेकोमा अब नयाँ एप सञ्चालनमा आएँसँगै स्वतः सञ्चालनमा नरहने सूचना प्रविधि विभागद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।यो एप मार्फत नागरिकले सम्बन्धित स्थानीय तहद्वारा प्रदान गरिने सेवाहरू, कार्यक्रम तथा परियोजना, ऐन नियमहरुको विवरण, महत्वपूर्ण स्थानहरु, आपतकालीन नम्बर सुझाव तथा गुनासो पेश गर्न, समस्या दर्ता गर्न, जनमत जाहेर गर्न र दोहोरो संवाद लगायत अन्य सूचना तथा जानकारी सजिलै प्राप्त गर्न सकिने उल्लेख गरिएको छ ।
साथै प्रदेश सरकारले जारी गरेका महत्वपूर्ण सूचना पनि एपमा देखिने विभागका महानिर्देंशक प्रेमशरण श्रेष्ठले बताए । एपमा हाल फैलिएको कोभिड १९ जस्तो महामारीको लागि सूचना प्रवाह गर्ने पनि जनाइएको छ ।स्थानीय तहले आफ्नो वेबसाइटमा राखेका कन्टेन्ट वा सेवा नागरिकले मोबाइल एपमार्फत उपभोग गर्न सक्छन् । यसअन्तर्गत एपबाटै नागरिकले विभिन्न प्रयोजनका सेवा दस्तुर र त्यसको प्रक्रिया थाहा पाउनुका साथै डिजिटल वालेटको प्रयोग गरी भुक्तानी गर्न सक्छन् ।
इच्छुक स्थानीय तहले एप कार्यान्वयनका लागि सूचना प्रविधि विभागमा सम्पर्क राख्नुपर्ने विभागका कम्प्युटर इन्जिनियर सुदर्शन गुरागाईंले बताए । साथै स्थानीय तहबाट प्रवाह गरिने सेवा र त्यस बापतको भुक्तानी नागरिकले डिजिटल वालेटको प्रयोग गरी गर्न सकिने विभागले जनाएको छ । यो एप एन्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा उपलब्ध छ ।