काठमाडौं । अब मोबाइलमा रहेको ब्यालेन्सको जानकारी लिन, ब्यालेन्स ट्रान्सफर गर्न र मोबाइल रिचार्ज गर्न प्रयोग हुने सर्ट कोड सबै सेवा प्रदायकको एउटै हुने भएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवामा प्रयोग हुने सर्ट कोड र टोल फ्री नम्बर व्यवस्थापन कार्यविधि, २०७७ जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।
यसअघिसम्म सेवा प्रदायक अनुसार आ-आफ्नै छुट्टै कोड प्रयोग हुँदै आएको थियो । जसमा नेपाल टेलिकमको मोबाइल ब्यालेन्स चेक गर्न ८४००३, ब्यालेन्स ट्रान्सफर गर्न ८४२२३ र रिचार्जका लागि ८४१२३ प्रयोग हुँदै आएको थियो ।त्यस्तै एनसेलमा मोबाइल ब्यालेन्स चेक गर्न ८१०१३, ब्यालेन्स ट्रान्सफर गर्न ८१७१२२३ र रिचार्जका लागि ८१०२३ प्रयोग हुँदै आएको थियो ।
स्मार्ट सेलको हकमा मोबाइल ब्यालेन्स चेक गर्न ८१२३३, ब्यालेन्स ट्रान्सफर गर्न ८१३१३ र रिचार्जका लागि ८४२२३ प्रयोग हुँदै आएको थियो । अब भने सबै सेवा प्रदायकले एउटै कोड प्रयोग गर्नुपर्ने छ । नयाँ कार्यविधि अनुसार अबको ६ महिनाभित्र सबै सेवा प्रदायकले ब्यालेन्स चेक गर्न १४४, ब्यालेन्स ट्रान्सफर गर्न १३३ र रिचार्जका लागि १२२ सर्ट कोड प्रयोग गर्नुपर्ने छ । प्रयोगकर्ताको सहजताको लागि भन्दै प्राधिकरणले यतो खालको प्रावधान राखेका जनाएको छ ।
‘सेवा प्रदायक अनुसार विभिन्न कोड हुँदा प्रयोगकर्तालाई सम्झन समस्या परिरहेको हुन्छ,’ प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले भने, ‘एउटै कोड भएको खण्डमा प्रयोगकर्तालाई सहज हुनेछ ।’त्यो भन्दा पनि सर्टकोड सीमित स्रोतको रुपमा रहेको नम्बर हो । उक्त नम्बरको समुचित एवं अधिकतम प्रयोग गरी सेवा प्रदायकबाट प्रदान हुने दूरसञ्चार सेवा सहज रुपमा प्रयोग गर्ने उद्देश्यका साथ यो कार्यविधि तयार पारी जारी गरिएको अर्याल बताउँछन् ।
अर्यालका अनुसार यो प्रावधान सेवा प्रदायकले कार्यविधि जारी भएको मितिले ६ महिनाभित्र कार्यन्वयनमा ल्याउनु पर्नेछ । साथै ६ महिनापछि एक वर्षसम्म सेवा प्रदायकले पुरानो र नयाँ दुवै कोडलाई समानान्तर रुपमा प्रयोगमा ल्याउन पाउने व्यवस्था कार्यविधिले गरेको छ । एक वर्षपछि भने कार्यविधि अनुसारकै कोडमात्रै प्रयोग गर्नुपर्ने उल्लेख छ ।
