धनगढी ,५ माघ / कैलालीको चुरेमा परम्परागत सोचमा परिवर्तन आउन नसक्दा अझै छाउपडी प्रथाले प्रश्रय पाउँदै आएको छ। महिनावारी भएका महिलालाई अलग्गै छाउगोठमा राख्ने चलनले निरन्तता पाउँदै आएको छ।
समाजमा महिलालाई हेर्ने सकारात्मक सोचको विकास नहुनु नै परम्परादेखि चल्दै आएको ‘कु’ प्रथालाई महिलाले नै छाड्न सकेका छैनन्। उसो त महिलाकै कारण महिलाले नै यो समस्या भोग्नु परि रहेको छ ।
महिनावारी भएको समयमा घरपरिवारमा छोइहालेमा घरमा अनिष्ट हुने, महिनावारी भएको चार दिन सम्ममा यात्रा गर्नु हुदैन् , गाडी छुनु हुदैन,फलफुलका बोट बिरुवा छुनु हुदैन्,पानीको मुहान छुनु हुदैन् , देवीदेवता रिसाउँछन्, पाप लाग्छ, नराम्रो हुन्छ भन्नेजस्ता रुढीवादी प्रम्परा र अन्धविश्वासबाट महिला अन्यायमा पर्ने गरेका छन्। महिनावारी भएको समयमा घरमा प्रवेश गर्न नहुने अन्धविश्वासका कारण घरभन्दा टाढा रहेको छाउगोठमा बस्ने गर्दछन्।
छाउपडी प्रथा व्यापक भएको चुरे गाउँपालिका महिला तथा बालबालिका विषयगत शाखाका प्रमुख लक्ष्मी पन्तले बताए।महिलाहरू महिनावारी हुन्छन् भनेर पालिका नजिक पनि महिलाहरूलाई कोठा भाडा नदिने, दिई हाले पनि छाउपडी धेरै मान्ने गरेको उनले बताईन् । उनले भनिन् “छाउपडी प्रथा अन्तयको लागि जनचेतना मुलक कार्यक्रम गरि रहेका छौ, मान्छेले तुरुन्तै लागू गर्दैन् ,घरमा बसेका आमा बुवा हजुरबुवा हजुर आमालाई जति भने पनि परिवर्तन हुन मान्दैन , बिस्तारै बुज्दै गए पछि परिवर्तन हुँदै जाने कुरा हो “।
छाउपडी प्रथा महिलाको प्रगति र बिकासको बाधक भएको उनले बताईन् । छाउपडी भएका बेला घरभित्र नपस्न नदिने, घरभित्रको काम गर्न नदिने, दूध दहीजस्ता पोषणयुक्त खानेकुरा खान नदिनेजस्ता अमानवीय व्यवहार गर्ने गरिन्छ उनले भनिन् ‘आराम गर्नुपर्ने बेला गह्रुंगो भारी बोक्न लगाउने तथा पोषणयुक्त खानेकुराबाट वञ्चित गरिन्छ।’ यहाँको समाजमा छाउपडी प्रथा ठूलो समस्याका रूपमा रहेकाले यसलाई जरैदेखि उन्मूलन गर्नका लागि पुरानो पुस्तालाई परिवर्तन गर्न आवश्यकता रहेको उनले बताए।
युवतीहरू एक निश्चित उमेर पुगिसकेपछि महिनावारी हुनु भनेको प्राकृतिक प्रक्रियाको स्वाभाविक नियम भएपनि महिनावारी हुनुलाई धर्म र धार्मिक ग्रन्थसँग जोडी पाप तथा विनासका रूपमा परिभाषित गर्दा यसले समाजमा प्रश्रय पाउँदै आएको छ। महिलालाई धार्मिक स्थलमा जान र पूजापाठ गर्नबाट समेत यसबेला बञ्चित गरिँदै आएको छ।
परम्परागत सामाजिक मूल्य र मान्यता, रुढीबादी सोच, धार्मिक अन्धविश्वास, जनचेतनाको कमी, लैंगिक विभेद्, अशिक्षा, बाल बिवाह ,उपयुक्त नीति नियमको अभावका कारण छाउपडी प्रथाले निरन्तरता पाउँदै आएको चुरे गाउँपालिकाका उपाध्क्षय धना देवी थापाले बताए। छाउपडी प्रथा हाम्रै घरबाट सुरु भएको छ, उनले भने, ‘पहिले आफैँबाट यसलाई हटाऔं।’
पहिला घरका बुढापाकाले घरनजिकै आउँदा नाइनास्ती गर्थे, चार दिनसम्म त घरको दैलोमै छिर्न पाइँदैनथ्यो उनले भने, “हाल घरको कोठामा बस्दै आएका छौँ, बेडमा सुत्छौँ, घरमा सम्झाउँदा बुझाउँदा बुढापाकाले मानेका छन् । तर कतै कतै अझै पनि छाउगोठ छन् ।”
महिनावारी भएका महिलाले अरू कुनै महिलालाई छुँदासमेत छोइछिटो हाल्नुपर्ने र आगनमा हिँड्नका लागिसमेत सिमाना निर्धारण गरिने अवस्था रहेको स्थानीयवासी (नाम परिवर्तन) भावना साउदले बताए। ‘सीमानाभन्दा पर आँगनमै भुलेर गइहाले अनेकन प्रकारका गाली सुन्नुपर्ने हुन्छ, पानी धारा छुन नपाइने भएकाले कठ्याङ्ग्रिदो जाडोमा खोलामा नुहाउनुपर्ने त बाध्यता नै हो’ उनले भने।
छाउगोठमा सुत्नुपर्ने हुँदा बाह्य जनावर ,सर्प र मानिसको आक्रमणमा पर्ने डर त हुन्छ नै, पर्याप्त ओछ्याउने बिछ्याउने कपडाको अभावमा समेत जाग्राम बसेर रात काट्नुपर्ने अर्को बाध्यता र बच्चासगै छाउगोठमा बस्न समस्या भएकोको (नाम परिवर्तन )कल्पना बोहराले बताए। उनले भनिन् ” घरमा जति भने पनि मान्दैन्, हुन त घर नजिकै विद्यालय छ , तर पनि केही परिवर्तन भएको छैन्, । “
चुरेमा विद्यालय नजिकै छाउगोठ रहेका छन् । शिक्षा क्षेत्रले पनि छाउपडी नियन्त्रणमा कुनै प्रभाव पार्न सकेको छैन । ससुरा, श्रीमान, जेठाजुभन्दा घरका सासु, जेठानीलगायतबाट बुहारीले छाउपडीको पीडा खेप्नुपरेको छ। अछाम ,बझाङ , दार्चुलाबाट बसाई सराई भएर आएको समुदायमा छाउपडी प्रथा कायम रहेको चुरेका वडा अध्यक्ष डम्मर सिहले बताए । उनले भने “महिनावारी प्राकृतिक प्रकिया हो ,आफ्नो घरमा भने त्यस्तो भदभाव नभएको अध्यक्ष सिहले बताए ।