काठमाडौँ २५ मंसिर/सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले सुशासनका लागि एक महिने सूचना माग अभियान शुरू गरेको छ । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले सो अभियान शुरू गरेको हो ।
महासङ्घ केन्द्रीय कार्य सम्पादन समितिको आज सम्पन्न बैठकले सार्वजनिक सरोकारका निकायमा सुशासन प्रर्वद्धानका लागि सार्वजनिक चासोका विषयमा एक महिनासम्म सूचना माग गर्न सबै प्रदेश र ७७ वटै जिल्लाका शाखालाई निर्देशन दिइएको अध्यक्ष उमीद बागचन्दले जानकारी दिए ।
२४ गतेबाट हुने एक महिने अभियान पुस २३ गतेसम्म सञ्चालन हुने छ भने सूचना मागेको, प्राप्त गरेको र त्यसको अवस्था बारे समेत विभिन्न सञ्चार माध्यामबाट सार्वजनिक गरिने महासंघले जनाएको छ । अभियानका क्रममा मागिएका सूचनाको सदुपयोग गर्दै समाचारका माध्यमबाट आम नागरिकलाई जानकारी गराइने महासङ्घले जनाएको छ । सूचना माग गरेर तथ्य पत्ता लगाई खोज पत्रकारिताका माध्यमबाट निरन्तर पिछा गर्ने पनि अध्यक्ष बागचन्दले बताएका छन् ।
