विधा : गद्य कविता
शीर्षक : खेल
जब,
मलाई एक पुरुषार्थी भिँडले
अस्तित्व लिलाम गरेर
पाखा लगाउँछ अवसरबाट
तब,
आँखाका सपना गुजुल्टो पारेर
मनको आँधीले उडाउँछ
मस्तिष्कका छानाहरू
पारी क्षितिजमा
मुटुले डकढक खन्छ
जीवित चाहानाका चिहानहरू
अनि,
चिहानबाटै भएपनि
जीवित प्रमाण जुटाउँदै
टाउको उठाउन खोज्छु
तब
बजारिन्छन्
टाउको माथि
निर्मम म हरूकै लातहरू र
लुटिन्छन् जबर्जस्ती
हातका ठेला,
निधारका पसिना र
ओठको मुस्कान समेत।
तसर्थ मलाई कसैप्रति विश्वास छैन्।
तिमी माटाका मूर्ति
कागजका तस्बिर
कपासको धागो र
बगरका ढुङ्गा बटुलेर
नयाँ खेल खेल्न नखोज साथी ।
✍️कोपिला शर्मा(धनगढी)