धनगढी, १५ भदौ / नेपालमा हालै आएको बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि धनगढीस्थित नेपालमा माहोर वैश्य सेवा समितिले ५१ हजार रुपैयाँ सहयोग गरेको छ।
विपद्को समयमा सामाजिक तथा नैतिक दायित्व सम्झिँदै समितिका सदस्यहरूले व्यक्तिगत तथा सामूहिक रूपमा रकम संकलन गरी सहयोग गरेका हुन्।
समितिका अध्यक्ष मुकेश गुप्ता र महासचिव राकेश गुप्ताको नेतृत्वमा सदस्यहरूबाट संकलित ५१ हजार रुपैयाँ प्रधानमन्त्री उद्धार तथा राहत कोषमा जम्मा गरिएको समितिले जनाएको छ।
बाढी तथा प्राकृतिक विपत्तिका कारण प्रभावित नागरिकलाई राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको समितिको भनाइ छ। विपद्को समयमा पीडित नागरिकको साथमा उभिनु सामाजिक संस्था मात्र नभई प्रत्येक नागरिकको दायित्व भएकाले आफूहरूले आफ्नो क्षमताअनुसार सहयोग गरेको समितिका सदस्यहरूले बताएका छन्।
धनगढीमा रहेको नेपालमा माहोर वैश्य सेवा समिति यसअघि पनि विभिन्न सामाजिक तथा मानवीय सेवाका कार्यमा सक्रिय रहँदै आएको छ। समितिले बेहडा बाबा मन्दिरमा विशाल भण्डारालगायत विभिन्न सामाजिक तथा धार्मिक सेवाका गतिविधिमा समेत सहभागिता जनाउँदै आएको जनाएको छ।
समाज तथा राज्य संकटमा परेका बेला आफ्ना सदस्यहरूबाट व्यक्तिगत तथा सामूहिक रूपमा सहयोग जुटाउँदै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको समितिले जनाएको छ। आगामी दिनमा पनि आवश्यकता र परिस्थितिअनुसार सामाजिक तथा मानवीय सेवाका कार्यलाई निरन्तरता दिने समितिले प्रतिबद्धता जनाएको छ।