धनगढी १ फागुन/धनगढीमा क्यान इन्फोटेक सँचालन हुने भएको छ। कम्प्युटर एशोशियसन नेपाल कैलालीले धनगढीमा सूचना प्रबिधि मेला (क्यान इन्फोटेक) २०२३ दोश्रो संस्करण फागुन १६ गते देखि २० गते सम्म सञ्चालन हुने भएको हो। पहिलो इन्फोटेक भएको सात बर्षपछि कम्प्युटर एशोशियसन नेपाल कैलालीले दोश्रो संस्करणको आयोजना गर्न लागेको हो।
मेलामा सूचना प्रविधिको बारेमा जानकारी दिने, नविनतम प्राविधिक सामग्रीको प्रदर्शनी गरिने, साईबर सेक्युरेटि सम्बन्धी जानकारी दिइने कम्यूटर एशोशियसन कैलालीका अध्यक्ष यज्ञराज ओझाले बताए। इन्फोटेक मेला मुल संयोजक नरेशसिंह धामीका अनुसार देश विदेशमा भित्रिएका नविनतम प्रबिधिको बारेमा मेलामा जानकारी दिइने छ। त्यसैगरी सवै प्रकारका प्रबिधिहरुको एउटै ठाउँमा प्रदर्शनी गरिने छ।
यसका साथै प्राबिधिक शिक्षा अध्ययनरत विद्यार्थीलाई लक्षित गरेर सेमीनारको पनि आयोजना गरिने छ। संयोजक धामीका अनुसार सूचना प्रबिधि मेलामा साइबर सुरक्षाबारेमा पनि जानकारी गराइने छ। प्रबिधिको प्रयोगसंगै बालबालिकाहरु मोबाइल तथा कम्यूटरमा बढी समय व्यतित गर्ने गरेको अवस्थामा उनीहरुलाई गलत बाटोमा जानबाट कसरी रोक्ने भन्ने बारेमा पनि मेलामा जानकारी गराइने इन्फोटेक २०२३ का निर्देशक टेकराज पनेरुले बताए।
कार्यक्रममा नेपाल टेलिकम धनगढीका प्रमुख बलराम जोशीले प्रबिधिको प्रयोग संगै नागरिको दैनिकी पनि प्रबिधिमा निर्भर हुने गरेको बताए। तर प्रबिधिको बढ्दो प्रयोगसंगै त्यसमा केही बिकृति देखा परेको भन्दै उनले त्यसबाट कसरी बच्ने भन्ने बारेमा जानकारी पाउनु सवैका लागि अपरिहार्य रहेको बताए। उनले सूचना प्रबिधिलाई लक्षित गरेर सञ्चालन हुने हरेक क्रियाकलापमा नेपाल टेलिकमले सघाउने गरेको बताए।
कम्प्यूटर एशोशियसन नेपाल महाँसंघका उपाध्यक्ष हर्क सेठ्ठीले मेला समान बेच्नका लागि मात्र नभई सूचना प्रबिधिका बारेमा धेरै जानकारी पाउने स्थान हुने बताए। उनले उद्योगी र शिक्षाको सम्बन्ध कसरी जोड्ने भन्नेबारेमा पनि मेलामा जानकारी गराइने बताए। उद्योग सञ्चालन गर्दा अझै पनि प्राबिधिक जनशक्तिको कमि रहेको भन्दै उनले मेलाले त्यो समस्या कसरी समाधान गर्ने भन्ने बारेमा पनि छलफल हुने बताए।
क्यानका प्रदेश अध्यक्ष धनबहादुर बोगटीले चुनौति धेरै भएपनि आट गरेर मेला सञ्चालनको तयारीमा जुटेको बताए। उनले मेला सफल बनाउन सवैको सकारात्मक सहयोगको अपेक्षा रहेको बताए। क्यानले काठमाण्डौं पछि धनगढीमा मेला सञ्चालन गर्ने तयारी गरेको बताउँदै उनले धनगढी पछि देशका अन्य प्रदेशमा पनि मेला आयोजना गर्ने योजना रहेको बताए। मेलामा विद्यार्थीले उत्पादन गर्ने प्राबिधिक सामग्रीको पनि प्रदर्शनी हुने उनले बताए। यसअघि २०१६ मा धनगढीमा सूचना प्रबिधि मेला सञ्चालन भएको थिया। २०२० मा भने कोरोना संक्रमणका कारण मेला स्थगित गरिएको थियो।