प्रस्तुतकर्ता : राजेन्द्र बम, कृषी बिज्ञ
परिचयः गोलभेडा (टमाटर) संसारका सबै वर्गका मानिसले खान मन पराउने प्रमुख तरकारी बाली हो । यो संसार भरी प्रचलित र धेरै जग्गामा खेती गरिने तरकारी मध्ये पनि एक हो । नेपालमा यसको खेती तराई तथा भित्री मधेशमा हिँउदमा हुन्छ भने मध्य एवं उच्च पहाडमा बसन्ते र बर्षे मौषममा हुन्छ । प्रति १०० ग्राम खान योग्य गोलभेडामा ९५ प्रतिशत पानीको मात्रा हुन्छ भने त्यसबाट १८ क्यालोरी शक्ति उपलब्ध हुन्छ । यसैगरी गोलभेडामा प्रशस्त मात्रामा भिटामिन सी, बायोटिन, मोलिब्लेडनम र भिटामिन के पाइन्छ । अचेल प्लाष्टिक घरको प्रविधीको विकास संगै गोलभेडालाई मौसमी र बेमौसमी दुवै किसिमबाट खेती गर्ने गरिएको छ ।
प्लाष्टिक घरमा गोलभेडा खेती किन?
बेमौसमी अर्थात प्रतिकूल मौसम (बढी चिसो र बर्षा) मा पनि गोलभेडा खेती गरी गर्न सकिने तथा त्यस्तो उत्पादन बढी मूल्यमा बिक्री हुने ।
प्रति ईकाई जग्गाबाट खुल्ला खेतीको भन्दा बढी उत्पादन र आम्दानी प्राप्त गर्न सकिने ।
लामो समयसम्म र गुणस्तरिय उत्पादन लिन सकिने हुँदा उत्पादन र आम्दानी दुबै बढी हुने ।
थोपा सिँचाई र प्लाष्टिक मल्च/छापो प्रयोग गरि न्यूनतम पानीबाट पनि खेती गर्न सकिने ।
रोगकिरा व्यवस्थापन तथा बाली हेरचाह गर्न सजिलो पर्ने ।
मलखादको अधिकतम उपयोग हुने ।
बिशेष गरी बेमौसममा गोलभेडाको आयात घटाउन सहयोग पुग्ने ।

प्लाष्टिक घर निर्माणः
पानी नजम्ने, प्रति दिन कम्तिमा ६ घण्टा सूर्यको प्रकाश पर्ने जग्गा उपयुक्त हुन्छ ।
७०-१२० जि. एस. एम. को सेतो सिल्पोलिन प्लाष्टिक प्रयोग गर्ने । बढी हावा चल्ने ठाउँमा बढी क्षमताको।
सामान्यतया जग्गाको क्षेत्रफल ७२ (१२×६ मी.) वर्ग मिटर हुनु पर्ने ।
बिचको पोलको उंचाई १० फिट र छेउको पोलको उचाई ९ फिट अग्लो राख्ने । सबै पोलहरुलाई २ फिट गहिरो गाड्ने ।
घरको लम्बाई चौडाई तथा पोल र भाटाहरुको दूरी र संख्या छुट्यो । यसैगरी प्लाष्टिको साइज ।यस्तो घर कती बर्ष टिक्छ भन्ने कुरा ?
धेरै हुरी-बतास लाग्ने स्थानमा यस्ता संरचना निर्माण नगर्नु नै बेश हुन्छ ।
गोलभेडाको जात छनौटः
अग्लो बोट हुने, बाली अवधि लामो भएको, बढी फल्ने, फल नफुट्ने, विभिन्न रोगहरु नलाग्ने वा सहने तथा चिसो एवं बर्षा सहन सक्ने गुण भएको हुनुपर्दछ ।
हिमसोनाः बेर्ना सारेको ६५–७५ दिनमा उत्पादन लिन सकिने बर्णशंकर जात हो । फल अण्डाकार, नरम, चिल्लो, रातो हुन्छ । एक फलको तौल ९०–१०० ग्राम हुन्छ, पात मध्यम, धेरै फैलने र बोट अग्लो हुने हुन्छ । ४-६ महिना सम्म फल टिप्न सकिन्छ ।एन.सि.एल–१: गर्मी र ओइलाउने रोग सहन सक्ने जात, बेर्ना सारेको ६५–७५ दिनमा उत्पादन लिन सकिने । फल आरु आकारको, अलि अलि गोलाकार, कसिलो बाक्लो छाला भएको, हल्का रातो रङ्गको हुन्छ । एक फलको तौल ६०–७५ ग्राम हुन्छ । पटक पटक गरी फल्ने हुँदा बोट ठूलो र सिधा हुन्छ ।
सृजनाः गोलभेडाको नेपालको पहिलो वर्णसंकर जात हो । फल रातो मुटु आकारको टुप्पा तिखो भएको हुन्छ । फलको बोक्रा बाक्लो (४–४.८ मिलिमिटर) हुनुका साथै फलको स्वाद मध्यम अमिलो हुन्छ । बोटको उचाइ ४.५ देखि ५ मिटर सम्म हुन्छ । बेर्ना सारेको ७५–८० दिनमा फल तयार हुन्छ । ९ देखि १० महिनाको अवधि सम्म फल टिप्न सकिन्छ । एक फलको तौल ६० देखि ८० ग्राम हुन्छ । ओईलाउने रोग सहन सक्ने जात हो ।
हावापानीः यसको खेतीका लागि २०-२७ डि. से. र फलको विकासका लागि २०-२५ डि. से. तापक्रम उपयुक्त हुन्छ । औषतमा दिनको अधिकतम तापक्रम ३२ डि. से. भन्दा बढी र २० डि. से. भन्दा कम भएमा फल कम लाग्दछ । तापक्रम १० डि. से. भन्दा कम हुँदा फूल कम लाग्ने र ३२ डि. से. भन्दा बढी हुँदा फूल सुक्ने हुन्छ । संरचना भित्र गर्मीमा Cooling र जाडोमा Heating system को व्यवस्थापन गरेर ८-१० महिना सम्म गोलभेडाको उत्पादन लिन सकिन्छ।
माटोः प्राङ्गारिक पदार्थ प्रशस्त भएको दोमट माटो तथा माटोको अम्लिएपन अर्थात पी. एच. ६ देखि ७ भएको र पानी नजम्ने माटो गोलभेडा खेतीको लागि उपयुक्त हुन्छ । पि.एच. मान कम भएमा गोलभेडामा बिषेशगरी क्याल्सियम तत्व लगायत अन्य तत्वहरु (नाईट्रोजन, फस्फोरस, पोटास रसल्फर) को उपलब्धता कम हुन्छ । यसले गर्दा विरुवाको बृद्धि विकास र उत्पादनमा नराम्रो असर पर्दछ ।
बेर्ना जमाउने तरिका: जमिनमा नर्सरी राख्ने हो भने सकभर कुनै तरकारी बालीको खेती नगरेको माटोमा नर्सरी राख्दा राम्रो हुन्छ । नर्सरी १ मिटर चौडा र आवश्यकता अनुसार लम्बाईको बनाउन सकिन्छ । नर्सरी राख्दा स्वस्थ र बलियो बेर्नाहरु उत्पादनको लागि प्लाष्टिकको थैलो वा बजारमा उपलब्ध सेल ट्रे/प्लग ट्रेमा राख्नुपर्दछ । ३ इन्च लम्बाई ३ इन्च चौडाईको प्लाष्टिकका थैलाहरु तयार गरी पानी तर्कने ४ वटा प्वालहरु पार्ने । अब २ भाग जंगलबाट ल्याईएको माटो वा पोखरीको पिँधको माटो अथवा निर्मलीकरण गरेको माटो, २ भाग राम्ररी पाकेको गोठे वा कम्पोष्ट मल र १ भाग बालुवाको मिश्रणले थैलो भर्ने (बालुवा मिसिएको माटो भएमा बालुवा नराख्ने) । यस्ता थैलाहरुमा १ से.मी. जति गहिराइमा एक-एक वटा बीउ राख्नु पर्दछ साथै बीउहरुलाई नरम माटो वा राम्ररी पाकेको कम्पोष्ट वा बलुवाले छोप्नुपर्दछ । हजारी/झारीको सहायताले माटोमा चिस्यानको अवस्था बिचार गरी बेला बेलामा हल्का सिँचाई गर्नु पर्दछ। बीउलाई १ भाग झोल मलमा ४ भाग पानी हालेर ६-७ घण्टा भिजाएर रोप्दा जराको बद्धि विकासमा सहयोग पुग्दछ । यदि सेल ट्रे/प्लग ट्रेमा विरुवा जमाउने हो भने कम्तीमा एक वर्ष पुरानो, रोगका जिवाणु र कीरा तथा झारपातको बीउ रहित कम्पोष्ट/गोठे मल वा २-३ वर्ष काठको बोक्रा कुहाएर बनाएको कम्पोष्ट अथवा नरिवलको जटाबाट बनेको धूलो (Coco-peat) र गड्यौली मल (Vermi- compost) को प्रयोग गर्नु पर्दछ ।

बीउ दर: एक ग्राम बीउमा करीब २०० दाना हुन्छ । ५-७ ग्राम बीउले करीब एक रोपनी र ३-५ ग्राम बीउले एक कठ्ठा क्षेत्रफलमा रोप्न पुग्दछ ।
जमिनको तयारीः राम्रो सँग पाकेको गोबर/गोठे मल वा कम्पोष्ट मल २००० के. जी. प्रति रोपनीका दरले माटोमा मिसाएर खनजोत गर्ने। चिम्ट्याइलो माटो छ भने २५% बालुवा मिसाउने र फर्मलडिहाइड ४% ले माटो उपचार गरी पोलिथिन (४०० गेज) ले ४ दिन सम्म छाप्ने । त्यसपछि पोलिथिन हटाएर ड्याङको माटो राम्रो सँग चलाउने र डयाङ बनाउंदा चौडाई १०० से. मी., उचाई ४० से. मी. र ड्याङहरुको बिचको बाटो ५० से. मी. राख्नुपर्दछ ।
निम केक र ट्राईकोडर्मा प्रयोगः उपलब्ध हुन सकेमा निमको पिनालाई धुलो बनाएर हलुका चिसो बनाई २ दिन सम्म राख्ने र १ के. जी. ट्राईकोडर्मा (जैविक बिषादी) लाई १०० के. जी. निम केक/पिनामा मिसाइ प्लाष्टिकले छोपेर राख्ने । त्यसपछि २०० ग्राम प्रति वर्ग मिटरको दरले ड्याङ्गको माटोमा मिसाउने ।
मलखाद प्रयोगः रासायनिक मलहरु प्रयोग गर्न, बेसल डोजको रुपमा ५०: ५०: ५० के. जी. N:P:K तत्व प्रति हेक्टरको हिसाबले हाल्नुपर्दछ । यसका लागि यूरिया … के. जी., डि.ए.पि. … के. जी. र पोटास … के. जी. चाहिन्छ । प्रयोग गर्ने तरीका ? खुलाउने ।
सिँचाईको लागि ड्रिपको पाइप राख्नेः प्रत्येक बेड⁄ड्याङ्गमा २ लाईन हुने गरी ३० से. मी. फरकमा (लगाउने जात अनुसार) साना प्वाल बनाएर १६ एम. एम. का मसिना पाइप (ड्रिप पाइप) बिच्छ्याउने/ओछ्याउने र आवश्यकता अनुसार माटोले पुरिदिने ।
प्लाष्टिक मल्चिङः २५-३० माईक्रोन बाक्लो तथा १-२ मिटर चौडाई भएको प्लाष्टिक (पोलिइथाईलिन) मल्चले बेड⁄ड्याङ्गलाई छोपि दिने र ६०×४५ से. मी. को फरकमा ५ से. मी. डायमिटरको प्वाल बनाउने ।

विरुवा रोप्ने समय र दुरीः

चार हप्ता उमेरका बेर्ना ६०×४५ से. मी. फरकमा रोप्नु पर्दछ । १५०० बेर्ना प्रति ५०० वर्ग मिटरलाई आवश्यक पर्दछ । विरुवा रोप्नु भन्दा अगाडी हलुका सिँचाई दिनुपर्दछ । कार्बेन्डाजिम (बेभिष्टिन) को घोलमा विरुवाको जराहरु डुबाएर रोप्दा विरुवाको जरामा ढुसीको संक्रमणका कारण लाग्ने सड्ने रोगको रोकथाम गर्न सकिन्छ । बेर्नाहरु रोप्दा बेलुकी पख सार्नु राम्रो हुन्छ ।
सिंचाईः बेर्नाहरु रोपेको १ हप्तापछि थोपा सिँचाईबाट पानी दिनु पर्दछ । पानी दिँदा मौसम अनुसार २-३ लिटर पानी प्रति वर्ग मिटरको दरले दिनु पर्दछ ।
फर्टिगेशन (झोलको रुपमा मल दिने) : पानीमा घुलनशिल मल, एन.:पि.:के. (N:P:K) २००:२००:२०० के. जी. प्रति हेक्टरका दरले पुरा बाली अवधिभर फर्टिगेशन पद्धति बाट दिने । यसैगरी सूक्ष्मतत्च मल ३ ग्राम प्रति लिटर पानीका दरले २-३ पटक बेर्ना रोपेको ६० दिनपछि दिने । पोटासियम नाईट्रेट मल पनि १५ दिनको फरकमा २-३ पटक थोपा सिँचाईको माध्यमबाट दिनु राम्रो मानिन्छ । यसका लागि पोटासियम नाईट्रेट १.५ के.जी. र क्याल्सियम नाईट्रेट १.५ के जी प्रति हेक्टरका हिसाबले प्रयोग गर्नुपर्दछ ।
हार्मोन /ग्रोथ रेगुलेटरको प्रयोग (Hormone/ Plant Growth Regulator): हार्मोन अर्थात ग्रोथ रेगुलेटरको प्रयोग गर्नाले फूल फुल्न मद्दत गर्ने; फूल, कोपिला र नपाकेका फल झर्न रोक्ने; फलको आकारमा बृद्धि गर्न मद्दत गर्ने तथा फलको गुणस्तर र उत्पादन बृद्धि गर्नमा सहयोग पुर्याउँछ । यसका निम्ति प्नोफिक्स (Alpha Nepthyl Acetic Acid/NAA 4.5 %) २.५ मी. लि. प्रति १० लिटर पानीका दरले १५ दिनको फरकमा आवश्यकता अनुसार ४ पटक सम्म स्प्रे गर्न सकिन्छ ।
गोलभेडामा गरिने विशेष क्रियाकलापहरू (Special intercultural operations)
तालिम: बाँसको भाटा, काठको लौरा, पोलीथिन डोरीको प्रयोग गरी गर्न सकिन्छ । यस्तो गर्नाले बोट तथा फल भुँईमा सम्पर्क हुनबाट बचाउन सकिन्छ । यसो गर्नाले फलको साईज राम्रो बनाउन, फल कुहिन बाट बचाउन, बिषादी प्रयोग गर्न, फल टिप्न सजिलो हुनुका साथै उत्पादन पनि बढाउन सकिन्छ । प्रत्येक हाँगालाई प्लाष्टिक डोरीले लौरामा बाँध्ने अथवा डोरीले माथिको भाटामा बाँध्दा हाँगा भाँचिनबाट बचाउन सकिन्छ ।
काँटछाँटः विरुवा सारेको २५-३० दिनपछि जमिनबाट १ फिट माथि सम्म एउटा हाँगा मात्र राखी अन्य हाँगा, मुना हटाउनु पर्दछ। १ फिट माथिबाट Y आकार हुने गरी दुबै हाँगामा २⁄२ वटा हाँगा राख्ने र अन्य हाँगा, मुनाहरु हटाउनु पर्दछ। नचाहिने, रोगी, नफलेका हाँगाहरु हटाउनुपर्दछ ।

क्लस्टर थिनिङ (Cluster thinning): धेरै सङ्ख्यामा दानाहरु झुप्पामा लागेमा पातलो बनाउने अर्थात केहि दानाहरु हटाउनु पर्दछ । फूल लाग्ने हाँगामा पातसहितको चोर हाँगा आएमा हाँगा वा पातहरुलाई काटेर हटाउनु पर्दछ । यस्तो गर्नाले फलको आकार, गुणस्तर, साइज र एकरुपता कायम हुन्छ ।
मुना हटाउने (Bud removing): प्रत्येक कम्पाउण्ड लिफ र डाँठको बिचमा निस्केका मुना हटाएर मुख्य हाँगा मात्र राख्नुपर्दछ ।
टपिङ/टुप्पो काटेर हटाउने (Topping): गोलभेडाको बोटलाई एक हाँगो र दुई हाँगो प्रणाली अनुसार काँटछाँट गरी (तालिम दिर्इ) बोटको बृद्धि विकास गराउन सकिन्छ । दुई हाँगो प्रणालीमा काँटछाँट गर्न/तालिम दिनको लागि बोट १-१.५ फिट अग्लो भईसकेपछि टुप्पोलाई काटेर हटाई २ वटा हाँगाहरुलाई समानान्तर/बराबर हिसाबले बढ्न दिनुपर्दछ ।
गोलभेडामा परागसेचनः संरक्षित संरचना भित्र हावाको गति र आद्रता कम भएमा परागसेचनको लागि भंवरा वा मौरीहरुको प्रयोग गर्न सकिन्छ । जाडोमा महिनामा रातको तापक्रम १४ डि. से. भन्दा तल झर्न नदिने र गर्मीमा ३२ डि. से. भन्दा बढि हुन दिनु हुँदैन।
फल चाँडो पकाउने विधिः पूर्ण परिपक्व भएका हरिया तथा अलि अलि रंग चढेका फलहरु टिपी आधा भन्दा बढि रातो भएको गोलभेडा वा पाक्न लागेको केरा वा मेवा सँग मिसाएर/संगै राखेर ओभानो ठाउँमा भण्डारण गरि सेतो प्लाष्टिकले छोप्दा ५-७ दिनमा गोलभेडाका फलहरु आफै पाक्दछन् । साथै काँचो फलहरुको भेट्नो हटाएर पाकेको गोलभेडा संग मिसाएर राख्दा फलहरु अझ छिटो पाक्दछन ।
फल ढिलो पकाउने विधिः परिपक्व हरिया फलहरु तथा अलि अलि रातो भएका फलहरुलाई टिपेर क्याल्सियम क्लोराइड १.७५ ग्राम प्रति लिटर पानीका दरले १५ मिनेट डुबाई उपचार गरि राख्दा ढिलो पकाउन सकिन्छ ।
बाली टिपाईः साधारणतया बेर्ना सारेको ७०-८० दिनपछि फलहरुको टिपाई गर्न सकिन्छ । फल टिप्दा गर्मी समयमा बिहान वा बेलुकी पख फलको भेट्नो सहित टिप्नुपर्दछ ।
गोलभेडामा लाग्ने प्रमुख किराहरुः फलमा लाग्ने गबारोः हेलिल्युर पासो (२-३ वटा प्रति टनेल) को प्रयोग गर्ने, तथा उपलब्ध हुन सके परजिवी किरा ट्राइकोग्रामा १ लाख प्रति हेक्टरका दरले छोड्ने । फुल पारेको देख्नासाथ ०.०३% ई.सी. एजाडिरेक्टिन/नीम बाट बनेको बिषादी ५ ग्राम प्रति लिटर पानीमा मिसाएर छर्किने ।
सेतो झिंगा र लाहीः विरुवा लगाएको २०–२५ दिन पछिबाट पहेँलो स्टिकी ट्रयाप २–४ वटा प्रति टनेल राख्ने तथा ०.०३% ई.सी. एजाडिरेक्टिन ५ ग्राम प्रति लिटर पानीमा वा एसिटामिप्रिड २०% एस. पी. १ ग्राम प्रति १० लिटर पानीमा मिसाएर आवश्यकता अनुसार छर्ने । पात खन्ने (टुटा) किराः टि. एल. एम. ल्युर प्रति टनेल २ वटा राखी अनुगमन गर्ने, स्टिकी ट्रयाप प्रति टनेल २ वटा प्रयोग गर्ने, ४५% एस.सी. स्पिनोस्याड १ मी. लि. प्रति ३ लिटर पानीमा वा १८.५% को क्लोरोएन्टानिलीप्रोल एस.सी. १ मि. लि. प्रति लिटर पानीमा मिसएर १०-१५ दिनको फरकमा छर्किने ।
गोलभेडामा लाग्ने प्रमुख रोगहरुः डढुवा रोगः रोग सुरु हुने बेला देखि नै कपर अक्सिक्लोराइड (ब्लाइटक्स ५०% डब्लु.पी.) १.५ ग्राम र मेन्कोजेव ७५% डब्लु.पी. १.५ ग्राम मिलाई जम्मा ३ ग्राम प्रति लिटर पानीका दरले ६-१० दिनको फरकमा ३-४ पटक बोट राम्ररी भिज्ने गरि छर्किने । रोगले आक्रमण गरि सकेको अवस्थामा क्रिनोक्सिल वा रिडोमिल वा सेक्टिन वा एक्रोब्याट जस्ता बिषादी १.५ ग्राम प्रति लिटर पानीका दरले ७-८ दिनको फरकमा अवश्यकता अनुसार २-३ पटक पुरै बोटहरु भिज्ने गरि छर्ने ।
लिफ कर्ल भाइरसः यो रोग सेतो झिँगाबाट सर्ने हुनाले डाईमेथोएट कीटनाशक बिषादी १ मि. लि. प्रति लिटर पानीमा मिसाएर अवश्यकता अनुसार छर्किने । रोग लागेको देखा पर्नासाथ उखेलेर नष्ट गर्ने ।
कोत्रे रोगः क्याप्टन ५०% डब्लु.पी. बिषादीले बिउ उपचार गर्ने, रोगको लक्षण देखा पर्ने बेलादेखि कपर अक्सिक्लोराइड (ब्लाइटक्स ५०% डब्लु.पी.) १.५ ग्राम र मेन्कोजेव ७५% डब्लु.पी. १.५ ग्राम मिलाई कूल ३ ग्राम प्रति लिटर पानीमा मिसाएर ७-७ दिनको फरकमा ३ पटक छर्किने ।
सन्दर्भ सामाग्रीः प्लाष्टिक टनेलमा गोलभेँडा खरती प्रविधि (२०७५⁄७६), कृषि सूचना तथा प्रशिक्षण केन्द्र हरिहरभवन, ललितपुर, कृषि तथा पशुपन्छी डायरी २०७८, कृषि सूचना तथा प्रशिक्षण केन्द्र हरिहरभवन, ललितपुर, संरक्षित संरचनामा तरकारी खेती प्रविधि, राष्ट्रिय आलु, तरकारी तथा मसलाबाली विकास केन्द्र कीर्तिपुर, काठमाण्डौ