धनगढी २२ मंसिर/कैलाली उद्योग वाणिज्य संघले १५ बुँदे माग राखेर प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई १५ किलोको माला लगाइदिएको छ । बिहीबार सुदूरपश्चिम महोत्सवको उद्घाटनका लागि कैलाली आएका प्रधानमन्त्री देउवालाई उद्योग वाणिज्य संघले आफ्ना मागसहित माला लगाइदिएको हो ।
कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्पराज ओझाले २१ बुँदे मागबाट सुरु भएको महोत्सवमा यस वर्ष भने प्रधानमन्त्री देउवालाई १५ किलोको माला लगाइएको बताए । २१ बुँदामध्ये केही माग पूरा भइसकेकाले मालाको तौल घटाइएको कैलाली उद्योग वाणिज्य संघले जनाएको छ ।
१५ बुँदे मागमा सुदूरपश्चिम प्रदेशको गौरिफन्टा, धनगढी विमानस्थल स्तरोन्नति, औद्योगिक ग्राम स्थापना, मानसरोवर जोड्ने सडक, आईटी हबलगायतका विषयमा समावेश छन् ।बर्सेनि सुदूरपश्चिम प्रदेशको कृषि, पर्यटन, उद्योग, व्यापार व्यवसाय र कला संस्कृतिको प्रबर्द्धन गर्ने उद्देश्यले संघले महोत्सव आयोजना गर्दै आएको छ । यसपालि महोत्सव पुस २ गतेसम्म सञ्चालन हुनेछ । कैलाली उद्योग वाणिज्य संघले २०६३ सालदेखि महोत्सव सञ्चालन गर्दै आएको छ ।