काठमाडौँ, १५ कात्तिक । काठमाडौंमा जारी प्रधानमन्त्री कप क्रिकेटअन्तर्गत मंगलबार भएको खेलमा एपीएफ क्लबले सुदूरपश्चिममाथि १० विकेटको सहज जित हात पारेको छ।
सुदूरपश्चिमले दिएको ६८ रनको झिनो लक्ष्य पछ्याएको एपीएफले ११ ओभर २ बलमा विना कुनै विकेटको क्षतिमा ७० रन बनाएको हो। एपीएफका लागि आसिफ शेखले ४२ तथा प्रदीप ऐरीले २५ रनको पाली खेले।
यसअघि पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले २७ ओभरमा सबै विकेट गुमाएर ६७ रन बनाएको थियो।सुदूरपश्चिमका लागि कप्तान राजु रिजालले २४ रन बनाउनुबाहेक कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
सुदूरपश्चिमलाई झिनो रनमा रोक्ने क्रममा एपीएफका भुवन कार्कीले ४ तथा कमल ऐरी र मौसम ढकालले २र२ विकेट लिए।यससँगै एपीएफले दुई खेलबाट ४ अंक हात पारेको छ। यसअघि पहिलो खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई ५६ रनले पराजित गरेको थियो।