धनगढी, १० भाद्र/कैलालीमा प्रहरी नियन्त्रणमा रहेका अभियुक्त हतकडी सहित फरार भएका छन् । प्रहरीले नियन्त्रण गरि ल्याउदा अभियुक्त पथरैया नदीमा हाम फालेर हतकडीसहित फरार भएका हुन् । कैलालीको जोशीपुर गाउँपालिका–४ वाणी बस्ने शम्भु चौधरीका छोरा २८ वर्षीय शंकर चौधरी हतकडीसहित फरार भएका हुन् ।
प्रहरीले कुटपिटको आरोपमा अभियुक्त शंकरलाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको थियो । शंकरले आफ्नै बुवालाई कुटपपिट गरेको उजुरी परेपछि प्रहरीले घरबाटै नियन्त्रणमा लिएको थियो ।
ईलाका प्रहरी कार्यालय जोशीपुरको प्रहरी टोलीले शंकरलाई हतकडी लगाएर ल्याउने क्रममा स्थानीय पथरैया नदीमा हाम फालेर भागेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिएका छन् । फरार भएका शंकरको खोजीका लागि प्रहरी खटिएको कैलालीका प्रहरी प्रवक्ता जोशीले जानकारी दिए ।