धनगढी,२० असार।अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय किशोर विनोद शाही मृत्यु प्रकरणमा सरकारी वकिलले मुद्दा अदालतसम्म नपुर्याउन पीडित पक्षलाई दबाब दिएको आरोप लागेको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय अछामका सरकारी वकिल, सहायक जिल्ला न्यायाधिवक्ता कौशल प्रसाद ढुङ्गानाले मृतकका आफन्तलाई कार्यालयमै बोलाएर मुद्दालाई अदालतसम्म नलैजान दबाब दिंदै आफ्नो रायअनुसार अघि बढ्दा हितकर हुने बताएको पीडित पक्षको भनाइ छ । ‘सरकारी वकिलले हामीलाई बोलाएर यो घटनामा प्रहरीले केही प्रमाण जुटाउन सकेको छैन । त्यो तपाईं र हामी सबैलाई थाहा भएकै कुरा हो । अहिले उनीहरु (आरोपी)लाई अदालत पेश गरेमा सफाइ पाइहाल्छन्, उनीहरुलाई अदालत पेश गरे हामीलाई प्रमाण जुटाउन पनि समस्या हुन्छ । अहिले यतैबाट सामान्य तारेखमा छोडिदिउ । प्रहरीलाई पनि अनुसन्धान गर्न सजिलो हुन्छ भन्नुभएको छ’, मृतकका दाजु बखत शाहीले भने ।
शाहीले दोषीलाई उन्मुक्ति दिन आफूहरुलाई दबाव दिएको दाबी गरे । यो काममा महान्यायाधिवक्ताको कार्यालयसमेतको मिलेमतो भएको उनको आशंका छ । ‘महान्यायधिवक्ताको कार्यालय पनि संलग्न भएर मुद्दालाई असफल पार्ने काममा उनीहरु सक्रिय छन्,’ शाहीले भने ।
यति मात्र नभएर घटनामा संलग्न भएको आरोपमा पीडित पक्षले दिएको किटानी जाहेरीमा परेकी पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउने धनगढीबाट सरकारी वकिलसँगै अछाम फर्किएको र सरकारी वकिलको कार्यालय नजिकैबाट उनलाई प्रहरीले पक्रेको शाहीले दाबी गरे ।
आरोप अस्वीकार
तर सरकारी वकिल कौशल ढुङ्गानाले भने पीडित पक्षले लगाएका सबै आरोप अस्वीकार गरेका छन् । ‘सरकारी वकिलले त्यस्तो सल्लाह दिन्छ र भन्या रु त्यसरी उहाँहरुले न्याय पाउनुहुन्छ त ?,’ ढुङ्गानाले भने ।
मृतकका दाजुले आइतबार कार्यालयमा आएर कसरी जान सकिन्छ भनेर सोधेको र त्यसै क्रममा आफूलाई ज्यान मार्ने धम्की दिएको दाबी ढुङ्गानाले गरे । पीडित पक्षले दाबी गरेअनुसारको राय दिन मिल्नेरनमिल्ने विषयमा समेत आफूले मिसिल अध्ययन गरेपछि मात्र भन्ने सकिने बताउँदै ढुङ्गानाले अहिले अध्ययन गरिरहेको जनाए ।
उनले मेयर चलाउनेसँगै धनगढीबाट फर्किएको आरोपमा कुनै सत्यता नभएको दाबी गरे । ‘फेसबुकमा अछामकै एक जनाले सरकारी वकिलको गाडीमा अरोपीले सँगै यात्रा गर्ने भनेपछि कुन किसिमको सेटिङ छ र रु भनेर लेखेपछि त्योबारे थाहा भएको हो,’ उनले अ भने, ‘हामीले प्रतिवादीलाई बयानका बेला बाहेक भेट्न मिल्दैन । सरकारी वकिलको गाडीमा ल्याउने कुराको कसैले कल्पना गर्न सक्छ र रु की सरकारी वकिल त्यस्तै पागल हुनुपर्यो । पीडितलाई बोक्दै हिँड्ने हुन्छ र ?
धनगढीबाट आफू शनिबार बिहान ५ बजे अछाम पुगेको तर प्रतिवादी मध्येकी चलाउने बेलुकी ६ बजेतिर मात्र पुगेको दाबी उनको छ ।
वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीचको विवादको पृष्ठभूमिमा भएको यो घटनामा सुरुवातदेखि प्रहरीले राम्रो भूमिका नखेलेको आरोप लगाउँदै आएको पीडित पक्षले सत्ता र शक्तिको आडमा सरकारी वकिल र अदालतलाई समेत प्रभावमा पार्ने काम भइरहेको आरोप लगाएको छ ।
हाल प्रहरी हिरासतमा रहेकी चलाउने नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशकी सहमहामन्त्री समेत हुन् । शाही मृत भएदेखि अछामबाट फरार भएकी चलाउनेलाई शनिबार प्रहरीले एकाएक नियन्त्रणमा लिएको खबर सार्वजनिक भएको थियो । उनी माथि घटनाको मुख्य योजनाकार भएको आरोप छ ।
उनी पक्राउ परेको खबर सार्वजनिक भएलगत्तै आइतबार नै अछाम प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पेश गरेको छ । घटनाको अनुसन्धानका लागि संघीय प्रहरी इकाइ कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनकराज पाण्डे र केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका प्रहरी नायब उपरीक्षक (डीएसपी) मनोहरप्रसाद भट्ट नेतृत्वको टोली एक महिनादेखि अछाममै छ ।