धनगढी १० असार/कैलालीको कैलारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ५९ करोड २५ लाख २१ हजार बराबरको बजेट ल्याएको छ। गाउँसभाले चालू आर्थिक वर्ष २०७८/७९ का लागि गाउँपालिकाले ६३ करोड ५१ लाख ८५ हजार रुपियाँ बजेट ल्याएको थियो। यस पटक बजेटको आकार केही घटेको बताइएको छ।
सो गाउँपालिकाले सशर्तका कार्यक्रमतर्फ २५ करोड ८५ लाख, कार्यालय सञ्चालन प्रशासनिक ९चालू० तर्फ १० करोड ५० लाख रुपियाँ बजेट विनियोजन गरेको छ। यसैगरी, समपूरक कोषतर्फ ६ करोड ५० लाख, क्रमागत तथा अधुरा योजनातर्फ ८० लाख रुपियाँ बजेट विनियोजन गरेको छ।
यस्तै, आजै गाउँपालिकाका अध्यक्ष रामसमझ चौधरीले आगामी आर्थिक वर्ष २०७९-८० का लागि गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। उनले विगतमा भए गरेका असल अभ्यासलाई गाउँपालिकाले संस्थागत गर्दै लैजाने र कमी कमजोरीलाई न्यूनीकरण गरिने बताए। साथै, समावेशी सिद्धान्तका आधारमा पूर्ण पारदर्शी रुपमा बजेट तथा कार्यक्रम कार्यान्वयन गर्ने बताए। त्यस्तै, भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीको राष्ट्रिय भूमि आयोग तथा अन्य सरोकारवालासँग समन्वय गरेर व्यवस्थापन गरिने उल्लेख गरे। कैलारी गाउँपालिकाले गाउँपालिकाको साझा सवालको सम्बोधन तथा समग्र कैलारी गाउँपालिकाको दिगो विकासका लागि गाउँपालिकामा क्रियाशील राजनीतिक दल, नागरिक समाज, बुद्धिजिवी, भलमन्सा लगायत सरोकारवालासँग समन्वय तथा सहकार्य गर्ने जनाइएको छ।
कैलारी गाउँपालिकाले आगामी आर्थिक वर्षमा अन्य स्थानीय तहसँग समन्वय गरी दमकल सञ्चालन गर्ने, वन तथा वन्यजन्तु पशुपन्छी संरक्षणका कार्यक्रम सञ्चालन गर्ने लगायत नीति तथा कार्यक्रममा उल्लेख छ। गाउँसभाको अर्को बैठक असार १६ गते बोलाइएको छ।