काठमाडौँ, ७ जेठ । शुक्रबार साँझ चितवनमा आएको भिषण हावाहुरीका कारण तीन जनाको मृत्यु भएको छ। अन्य केही घाइते भएका छन्।हावाहुरीको कारण ढलेको रुखले च्यापिँदा भरतपुरका दुई छुट्टाछुट्टै ठाउँमा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
प्रहरीका अनुसार भरतपुर ११ भोडाजस्थित जंगल क्षेत्रमा ढलेको रुखमा च्यापिएर ना २ ह २२४७ नम्बरको अटोमा सवार दुई जनाको मृत्यु भएको हो।
मृतक स्थानीय ५० वर्षीय प्रदीपकुमार लामाको मात्रै सनाखत भएको छ। ज्यान गुमाउने करिब ५० वर्षीया अर्की एक महिलाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ। अटोमा सवार दुई महिला घाइते भएका छन्। उनीहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।
त्यसैगरी हावाहुरीले भाँचिएको रुखले च्यापिँदा भरतपुर ११ बसेलीमा पनि एक जनाको मृत्यु भएको छ।सडकमा गुडिरहेको ना १ ज ६१४० नम्बरको म्याजिक ढलेको रुखले च्यापिँदा त्यसमा सबरा स्थानीय ४८ वर्षीय लोकनाथ न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी नरहरि अधिकारीले जानकारी दिए।
शुक्रबार साँझ एक्ककासी आएको हावाहुरीले नारायणी पुलमाथि गुडिरहेको एउटा ट्रकलाई नै पल्टाएको छ। पुलमा रहेको बारको कारण ट्रक नदिमा खस्नबाट जोगिएको अधिकारीले बताए।
हावाहुरीका कारण भरतपुर क्षेत्रका सयौँ विजुलीका पोलहरु पनि ढलेका छन्। पोल ढल्दा चितवनका धेरै ठाउँमा विद्युत् सेवासमेत अवरुद्ध भएको छ।