धनगढी, ६ जेठ । कैलालीमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारिएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका–६ गुलारामा दुर्घटना भएर एक जनाको ज्यान गएपछि राजमार्ग अवरुद्ध पारिएको हो।
मृतकका आफन्त तथा स्थानीयले दिउसो करिब साढे २ बजेदेखि राजमार्ग अवरुद्ध पारेको प्रहरीले जानकारी दिएको छ। अहिले प्रहरीले राजमार्ग खुलाउन प्रयास भैरहेको बताउदै राजमार्गमा गन्तव्यतर्फ हिडेका सवारी तथा यात्रु अलपत्र परेको जनाएको छ।
आज दिउसो लम्कीचुहा नगरपालिका–६ गुलारा अन्तरगत पूर्वपश्चिम राजामार्गमा बसले मोटरसाइकललाई ठक्कर दिँदा बर्दगोरिया–५ का श्रवण रानाको मृत्यु भएको थियो। रानाको मृत्युपछि उनका आफन्तहरु आन्दोलित बनेका छन्।
यस्तै दुर्घटनामा रानाकी श्रीमती राजमती राना पनि घाइते भएको बताइएको छ। उनलाई उपचारको लागि कोहलपुर रेफर गरिएको छ। प्रहरीले बस चालक महोत्तरीका प्रेमकुमार अधिकारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।