धनगढी,२० चैत । कञ्चनपुरमा २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट वेदकोट नगरपालिकाको मेयरमा निर्वाचित भएका अशोककुमार चन्दसहितका जनप्रतिनिधि नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्ने भएका छन् ।
मेयर चन्दसहित वेदकोट नगरपालिकामा एमालेबाट निर्वाचित भएका चार जना वडाध्यक्ष र वडा सदस्य लगायतका जनप्रतिनिधि एकीकृत समाजवादीमा प्रवेश गर्न लागेका हुन् ।गत पुुसमा भएको नेकपा एमालेको जिल्ला अधिवेशनमा पल्लवराज भट्टसँग सचिव पदमा पराजित भएपछि पार्टीभित्र असन्तुष्ट बनेका मेयर चन्द माधव नेपाल एमालेमा छँदा उनी निकट नेता हुन् ।
पार्टी विभाजन भएका बेला समेत एमालेमै बसेका चन्द पार्टी अध्यक्ष सुरेन्द्र विष्ट समूहको पेलानमा परेका कारण बाध्य भएर अर्को बाटो रोज्नुु परेको निकटस्थहरुलाई बताउने गरेका छन् । पार्टी प्रवेश गर्न लागेका उनीहरुलाई आइतबार दिउँसो वेदकोट नगरपालिका–३ दैजीस्थित जयशंकर सामुदायिक वनमा आयोजना हुने कार्यक्रमकाबीच अध्यक्ष माधवकुमार नेपालले स्वागत गर्ने एकीकृत समाजवादीले जनाएको छ ।
वेदकोट नगरपालिकाका करीब दुई दर्जन जनप्रतितिनिधिसहित गरेर पाँच सयको संख्यामा नेता तथा कार्यकर्ता एमालेबाट आफ्नो पार्टीमा प्रवेश गर्न लागेको दाबी एकीकृत समाजवादीको छ ।