काठमाडौं, १८ कात्तिक/ नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी निर्वाचन आयोगको तात्कालीन निर्णय र त्यसपछि सम्मानित सर्वोच्च अदालतमा भएको न्यायिक निरुपण सम्बन्धमा आर्थिक चलखेल गरी निर्णय प्रभावित पार्ने प्रयास भएको समाचार सार्वजनिक भएपछि नेपाली कांग्रेसका विभिन्न जनवर्गीय संगठनहरूले गम्भीर ध्यानाकर्षण जनाएका छन्।
कात्तिक १८ गते जारी संयुक्त प्रेस विज्ञप्तिमा नेपाल महिला संघ, नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल दलित संघ, नेपाल किसान महासंघ र नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका अध्यक्षहरूले लोकतान्त्रिक आन्दोलनको धरोहर र विधिको शासनको पक्षमा निरन्तर संघर्षरत नेपाली कांग्रेस पार्टीको आधिकारिकता सम्बन्धमा निहित स्वार्थ समूहले आर्थिक लेनदेनबाट निर्णय प्रक्रिया प्रभावित पार्न खोजेको आरोप लगाएका छन्।
उनीहरूले भनेका छन्, “आधिकारिकता निर्धारण गरिने विषय यस्तो आर्थिक लेनदेनबाट प्रभावित हुन सक्दैन।” विज्ञप्तिमा सरकारका जिम्मेवार निकायहरूलाई सत्य तथ्य र प्रमाणका आधारमा छानबिन गरी दोषीलाई तुरुन्त कारबाहीको दायरामा ल्याउन जोडदार माग गरिएको छ।
