लखिमपुर खिरी (भारत) २१ कार्तिक/डोटीको प्रसिद्ध धार्मिकस्थल बडीकेदार धाममा आगामी मंसिर ५, ६ र ७ गते आयोजना हुने धार्मिक मेला (जाँत) मा भारतीय श्रद्धालुलाई सहभागी गराउने उद्देश्यले भारतको उत्तर प्रदेशस्थित लखिमपुर खिरी जिल्लाको पलियामा पत्रकार सम्मेलन गरिएको छ ।
बडीकेदार पर्यटन विकास तथा व्यवस्थापन समिति डोटी, नेपालको आयोजनामा भएको पत्रकार सम्मेलनमा बडीकेदार धामको धार्मिक महत्व, ऐतिहासिक पृष्ठभूमि, मेलाको तयारी तथा भारतीय धार्मिक पर्यटकको सहभागिताका विषयमा जानकारी गराइएको थियो । पत्रकार सम्मेलनमा समितिका अध्यक्ष उपेन्द्र बम र कार्यकारी निर्देशक गणेश जोशीले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै बडीकेदार धाम नेपाल र भारतका श्रद्धालुहरूको साझा आस्थाको केन्द्र रहेको बताए । उनीहरूले बडीकेदार धामको धार्मिक तथा सांस्कृतिक महत्वलाई भारतीय धार्मिक पर्यटकमाझ प्रचारप्रसार गरी मेलामा भारतीय श्रद्धालुहरूको उल्लेख्य सहभागिता गराउने उद्देश्यले पत्रकार सम्मेलन आयोजना गरिएको जानकारी दिए ।
डोटीको बडीकेदार धामलाई भगवान् शिवको पवित्र निवासस्थलका रूपमा लिने गरिन्छ । ठूलाकेदार तथा बड्डाकेदारका नामले समेत परिचित यो धाम धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र सांस्कृतिक परम्पराको संगमका रूपमा रहेको छ ।
हरेक वर्ष आयोजना हुने बडीकेदार मेलामा सुदूरपश्चिमका विभिन्न जिल्लासहित भारतको उत्तर प्रदेशबाट समेत ठूलो संख्यामा श्रद्धालुहरू आउने गरेका छन् । यस वर्षको मेलामा भारतीय धार्मिक पर्यटकको सहभागिता थप बढाउने लक्ष्यसहित प्रचारप्रसार र निमन्त्रणालाई प्राथमिकता दिइएको समितिले जनाएको छ । पत्रकार सम्मेलनमार्फत भारतीय सञ्चारमाध्यमका प्रतिनिधि तथा स्थानीय धार्मिक अगुवामार्फत बडीकेदार धामको धार्मिक महत्व र मेलाको सन्देश प्रचाप्रशार गर्ने उदेश्यले गरिएको अध्यक्ष उपेन्द्र बमले जानकारी दिए ।