धनगढी, १९ कात्तिक/माध्यमिक विद्यालय शिक्षक युनियन, नेपाल (हिस्टुन)का केन्द्रीय सहअध्यक्ष विष्णु दौल्यालले अस्थायी शिक्षकका माग र मुद्दा सम्बोधन गर्न बलियो संगठन र एकता आवश्यक रहेको बताएका छन् ।
हिस्टुन सुदूरपश्चिम प्रदेश कार्यसमितिको तेस्रो प्रदेश अधिवेशनमा शुभकामना मन्तव्य राख्दै दौल्यालले अस्थायी शिक्षकहरूबीचको एकता नै अधिकार प्राप्तिको मुख्य आधार भएको बताए । उनले व्यक्तिगत स्वार्थ र राजनीतिक आस्थाभन्दा माथि उठेर संगठनलाई बलियो बनाउन सबै शिक्षक एकजुट हुनुपर्नेमा जोड दिए । उनले अस्थायी शिक्षकहरूको हकहितका लागि गठन गरिएको मोर्चाले घोषणा गरेका आन्दोलनका कार्यक्रमलाई प्रभावकारी रूपमा अगाडि बढाउन जिल्ला तहदेखि केन्द्रीय तहसम्मका सबै सदस्यको समान योगदान र भूमिका आवश्यक रहेको बताए ।
‘हाम्रो संगठन कस्तो छ, यसले के काम गर्छ र हामी आज के उद्देश्यका लागि भेला भएका छौँ भन्ने विषयमा गम्भीर छलफल गर्न आवश्यक छ,’ उनले भने, ‘हाम्रा माग र मुद्दा सम्बोधन गराउन प्रत्येक साधारण सदस्यदेखि केन्द्रीय समितिसम्मका साथीहरूको बराबर योगदान र महत्व रहन्छ ।’ दौल्यालले अस्थायी शिक्षकहरूको साझा माग र अन्तिम लक्ष्यबारे पनि स्पष्ट धारणा बनाउनुपर्ने बताए । आन्तरिक सामाजिक सुरक्षा कोष, योगदानमा आधारित व्यवस्था, आन्तरिक प्रतिस्पर्धा वा गोल्डेन ह्यान्डसेकजस्ता विकल्पमध्ये शिक्षकहरूको हितमा कुन व्यवस्था उपयुक्त हुन्छ भन्ने विषयमा संगठनले साझा धारणा बनाउनुपर्ने उनको भनाइ थियो ।
शिक्षा मन्त्रालयले आगामी मंसिर–पुसमा संसद्मा प्रस्तुत गर्ने तयारी गरेको शिक्षा ऐनमा अस्थायी शिक्षकका माग र मुद्दा कसरी समेटिएका छन् भन्ने विषयमा पनि उनले जानकारी गराए । ऐन निर्माणको प्रक्रियामा शिक्षकका माग समावेश गराउन संगठनले निरन्तर पहल गर्नुपर्ने उनले बताए । त्यस्तै, कात्तिक ११ गते सर्वोच्च अदालतमा दर्ता गरिएको रिट निवेदनबारे चर्चा गर्दै दौल्यालले त्यसको न्यायिक प्रक्रियाबाट शिक्षकका अधिकार स्थापित हुने अपेक्षा व्यक्त गरे । उनले अस्थायी शिक्षकहरू राज्यको आवश्यकता र विद्यालयमा शिक्षक अभाव पूर्ति गर्न नियुक्त भएका जनशक्ति भएको उल्लेख गर्दै उनीहरूलाई राजनीतिक दलको कार्यकर्ता वा पहुँचका आधारमा नियुक्त गरिएको भन्ने आरोपको खण्डन गरे । ‘हामी कुनै राजनीतिक दलको झोला बोकेर वा पैसा दिएर नियुक्त भएका होइनौँ । गाउँगाउँका विद्यालयमा विद्यार्थीको भविष्य सुनिश्चित गर्न राज्यले आवश्यकता महसुस गरेर नियुक्त गरेका शिक्षक हौँ,’ उनले भने ।
दौल्यालले अस्थायी शिक्षकहरूको योगदान र योग्यताको सम्मान हुनुपर्ने बताउँदै उनीहरूको पेसागत सुरक्षा र मर्यादाका लागि संगठनले निरन्तर आवाज उठाउनुपर्ने धारणा राखे ।
उनका अनुसार अस्थायी शिक्षकहरूबीच एकता नहुँदा नै उनीहरूका माग कमजोर बनेका छन् । ‘हामी आफैँ एकजुट हुन नसक्दा कमजोर भएका हौँ। सबै एकजुट भयौँ भने हाम्रा माग र मुद्दा सम्बोधन गराउन सक्ने हैसियत निर्माण गर्न सक्छौँ,’ उनले भने । उनले अस्थायी शिक्षक, संघीय शिक्षक अनुदान, विशेष शिक्षा तथा अन्य अस्थायी प्रकृतिका कर्मचारीलाई समेत समेटेर साझा मोर्चा निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए । ‘कुनै साथीलाई अन्यायपूर्ण तरिकाले विद्यालयबाट हटाइयो वा अपमान गरियो भने संगठनले त्यसको प्रतिवाद गर्न सक्नुपर्छ । शिक्षकको पेसागत सुरक्षा र सम्मानका लागि संगठन सधैँ उभिनुपर्छ,’ उनले भने ।