फाइल फोटो
काठमाडौँ, २३ फागुन । सत्तारुढ नेकपा माओवादी केन्द्रले शुक्रबारदेखि जारी आफ्नो केन्द्रीय समितिको बैठक आजै (सोमबार) सक्ने तयारी गरेको छ।
बत्तीसपुतलस्थित अनुपमा फुडल्यान्डमा बिहान ११ बजे सुरु हुने बैठक चुनावी कार्यक्रम तय गर्दै आजै सकाउने तयारी रहेको माओवादी केन्द्रको केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए।
शुक्रबार राष्ट्रिय सभा गृहमा सुरु माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक दोस्रो दिन आइतबार बत्तिसपुलतीस्थित अनुपम फुडल्यान्डमा बसेको थियो।आजको बैठक बस्नुअघि बिहान अध्यक्ष प्रचण्डको निवासमा नेताहरूबीच अनौपचारिक छलफल भएको छ।
छलफलमा सहभागी एक नेताले नेपालखबरसँग भने, ‘आजको बैठक टुंगो लगाउने विषयमा छलफल भएको हो।’
आजको बैठकबाट केन्द्रीय समितिलाई पूर्णता दिने तयारी छ। गत पुस १८ गते भएको आठौं महाधिवेशनले माओवादी केन्द्रको २४७ जना केन्द्रीय सदस्य चयन गरेको थियो भने भोलिपल्ट बसेको केन्द्रीय समितिको बैठकले पुनः पुष्पकमल दाहाल प्रचण्डलाई नै पार्टीको अध्यक्ष चुनेको थियो। अन्य पदाधिकारी भने अहिलेसम्म चयन गर्न सकेको छैन।
आजको बैठकबाट केन्द्रीय समितिलाई पनि पूर्णता दिने तयारी माओवादी केन्द्रले गरेको हो। २९९ सदस्यीय केन्द्रीय समितिमा महाधिवेशनले २४७ जना मात्र चयन गरेको छ। अब २९९ को १० प्रतिशत हेडक्वार्टरले मनोनयन गर्ने व्यवस्था छ। त्यस्तै २९९ को १५ प्रतिशत केन्द्रीय समितिले मनोनयन गर्नेछ।
जम्मा ६३ सदस्य थपिने बताइएको छ।त्यसैको सूची तय गर्न खुमलटारस्थित प्रचण्ड निवासमा शीर्ष नेताहरूको आउने जाने क्रम चलिरहेको हो। खुमलटार स्रोतका अनुसार बैठक आजै सक्नका लागि अध्यक्ष प्रचण्डले पूर्वस्थायी समितिका सदस्यहरूसँग छलफल गरिरहेका हुन्।
पूर्वस्थायी कमिटीका सदस्यसमेत रहेका केन्द्रीय सदस्य गणेश साहले आजको बैठकले केन्द्रीय कमिटीलाई पूर्णता दिने बताए।
‘आज केन्द्रीय कमिटीले पूर्णता पाउँछ’, केन्द्रीय सदस्य साहले सोमबार बिहान नेपालखबरसँग भने, ‘पदाधिकारी चयन र एमसीसीलगायत विषयमा छलफलचाहिँ अब चुनावपछि मात्रै होला।’
पदाधिकारीमा एक जना वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र कोषाध्यक्ष चयन गर्न बाँकी छ।