धनगढी/ नेपाली काँग्रेस कैलालीको अधिवेशनअन्तर्गत मतगणना आज सुरु हुने भएको छ। आइतबार जिल्ला नेतृत्व चयनका लागि मतदात सम्पन्न भएकोमा आज ११ बजेदेखि गणना सुरु हुने निर्वाचन समितिले जनाएको छ। निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीका अनुसार २ हजार ५७६ प्रतिनिधिमध्ये २ हजार ४८५ मत खसेको छ। उनले सुरुमा सभापतिको गणना सुरू हुने दिनेशखबरलाई जानकारी दिए।
जिल्ला समिति चयनका लागि संस्थापन पक्षबाट दुई र इतर पक्षबाट एक प्यानल चुनावी मैदानमा उत्रिएका थिए। संस्थापन पक्षका नारायणदत्त भट्ट र प्रकाशबहादुर बम तथा इतर पक्षबाट रामबहादुर कलेलले प्यानलसहित उम्मेदवार दिएका थिए। भट्टको प्यानलबाट उपसभापतिमा भीम बडुवाल र रामप्रशाद चौधरी, सचिवमा केशव मिश्र र अमृत बिसी, सहसचिवमा रामसमझ राना र कलेसु चौधरीको उम्मेदवारी थियो।
यस्तै बम प्यानलबाट उपसभापतिमा खेमराज चौधरी र तेजशंकर भट्ट, सचिवमा नृप सुनार थर्क शाह, सहसचिवमा कृष्ण पाण्डेय र राजेन्द्र खड्काको यस्तै इतर पक्षको कलेल प्यानलबाट उपसभापतिमा यज्ञनिधि कोइराला र लोकराज पाण्डेय, सचिवमा देवानन्द जैशी र नवराज जोशी, सहसचिवमा रविन्द्रप्रताप सिह र तीर्थराज जोशीको उम्मेदवारी छ। १२ जना भने निर्विरोध चयन भएका छन्।