काठमाडौँ, ७ फाल्गुन । नेकपा एमालेका नेता भीम रावलले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता नेपालको स्वाधीनताविरुद्ध रहेको र यसले देशलाई शक्ति राष्ट्रहरूको प्रतिस्पर्धाको भुमरी बनाउने भनेर आफूले भनेको कुरा अहिले पुष्टि भएको दाबी गरेका छन्।
एमसीसीका विषयमा अमेरिका र चीनले परस्पर विरोधी वक्तव्य जारी गरेपछि पूर्व रक्षामन्त्रीसमेत रहेका रावलले आफूले औंल्याएको कुरा अहिले व्यवहारमा देखिँदै गएको प्रतिक्रिया दिएका हुन्।
–एमसीसीबारे अमेरिकाले भन्यो स् विरोधका नाममा हिंसात्मक गतिविधि स्वीकार्य छैन
–चीनले भन्यो : एमसीसी स्वीकार्न अमेरिकाले नेपालमाथि ‘बाध्यकारी कूूटनीति’ सुरु गर्यो
यसअघि माघ २७ गते दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायकमन्त्री डोनाल्ड लुले नेपालका शीर्ष नेताहरूलाई वासिङ्टनबाट सीधै फोन गरेर एमसीसी सम्झौता प्रतिनिधि सभाबाट अनुमोदन नगरिए चीनको दबाब रहेको बुझिने भनेर चेतावनी दिएका थिए। नेपाली नेताहरूले भने अरू देशको सल्लाहमा नभएर नेपाल आफैँले एमसीसीबारे निर्णय गर्ने जवाफ दिएका थिए।
‘एमसीसी सम्झौता पढेपछि यसका नेपालको स्वाधीनता र हितविरोधी प्रावधान औंल्याउँदै स्वतन्त्र परराष्ट्र नीतिमा आघात पार्ने र देशलाई शक्ति राष्ट्रहरूको प्रतिस्पर्धाको भुमरीमा धकेल्ने कुरा गरेको थिएँ’, एमाले नेता रावलले भनेका छन्, ‘यसको पुष्टि अमेरिकी सहायकमन्त्रीको धम्की, राजदूतको भनाइ र चीनको प्रतिक्रियाबाट भएको छ।’
