काठमाडौं २८ माघ ।नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले एमसीसीका विषयमा भएको भ्रमलाई चिर्न आह्वान गरेका छन्। नेपाल आफैंले एमसीसीअन्तर्गत सडक र विद्युत प्रसारण लाइन निर्माणका लागि अनुदान माग गरेको उनले बताए।
नेपाल प्रेस युनियनले शुक्रबार आफ्नो केन्द्रीय कार्यालय (थापागाउँ) मा महतलाई पार्टीको प्रवक्ता भएकामा बधाई र सम्मान दिन आयोजना गरेको कार्यक्रममा उनले एमसीसीका विषयमा धारणा राखेका हुन्।
‘हामीलाई पूर्वाधारको क्षेत्रमा सहयोग चाहियो भनेर अल्पविकसित देशहरूले माग गरे। त्यसपछि अमेरिकाले त्यो माग सम्बोधनका लागि एमसीसी सुरु गर्यो, उनले भने, ‘सन् २०१२ बाट नेपाल पनि त्यसमा प्रवेश गर्यो।’उनका अनुसार बाबुराम भट्टराईको पालामा नेपालले एमसीसीका लागि आवेदन दिएको हो।
‘त्यसमा निश्चित मापदण्ड पूरा गरेपछि नेपालले एमसीसीअन्तर्गत सडक र विद्युत प्रसारण लाइनको निर्माण गर्न चाहियो भनेर माग गर्यौं। त्यसमा सबै राजनीतिक दलहरुको सहभागिता भयो। जुनबेला माओवादी र कांग्रेसको संयुक्त सरकारको पालामा सम्झौता भएको हो, महतले भने, ‘संसदबाट अनुमोदन गर्ने कुरा पहिला थिएन, ओलीजीकै पालामा संसदीय अनुमोदनको बुँदा थपियो र त्यही समयमा संसदमा टेबल भएको हो। नेपालमा जे प्रश्न गर्नुपर्ने हो त्यहाँ प्रश्न गरिँदैन तर अन्य विषयमा अतिरञ्जना गराउने गरेका छन्।’
एमसीसी नेपालकै संविधान र कानुनअनुसार सञ्चालन हुने दाबी गर्दै उनले थपे, ‘इन्डोप्यासिफिक रणनीति र सैन्य प्रयोजनका लागि होइन। यो कुनै देशको विरोधमा आएको होइन। यही सम्झौताको मोडलमा अन्य मुलुकले सहयोग गर्छन् भने हामी लिन तयार छौं।’