काठमाडौं, १९ माघ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा ९ माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
बुधबार बालुवाटारमा भएको भेटमा एमसीसी, स्थानीय तहको निर्वाचन, संसदको अवरोधलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवलायले जनाएको छ। छलफलमा सरकारका प्रवक्ता एवं सूचना तथा संचारमन्त्री ज्ञानेन्द्र बहादुर खड्का पनि सहभागी थिए। उनीहरुबीच करिब डेढ घण्टा कुराकानी भएको बालुवाटार स्रोतले जनाएको छ।
मंगलबार निर्वाचन आयोगका पदाधिकारीले स्थानीय तहको निर्वाचन जेठ ४ गते गर्न सरकारलाई सिफारिस गरेका थिए। लगत्तै प्रधानमन्त्री देउवाले गठबन्धनमा छलफल गरेर सरकारले निर्वाचनको मिति सार्वजनिक गर्ने बताएका थिए।
पछिल्लो समय प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट ९एमसीसी० पारित गर्ने तयारीमा जुटेका छन्। तर, एमसीसीबारे भने सत्तागठबन्धनभित्र विवाद चुलिएको छ। प्रधानमन्त्री देउवा एमसीसी संसद्बाट पारित गराउनुपर्ने पक्षमा छन्। प्रचण्ड र नेपाल भने परिमार्जनसहित पारित गर्नुपर्ने अडानमा छन्। यसअघि माघ १७ गते पनि तीनै नेताबीच सोही विषयमा छलफल भएको थियो।
सत्तारुढ गठबन्धनले एमसीसी सम्झौताबारे साझा धारणा बनाउन कार्यदल बनाएको छ। कार्यदलमा नेकपा ९एकीकृत समाजवादी०का नेता झलनाथ खनाल, कांग्रेस नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र माओवादी केन्द्र नेता नारायणकाजी श्रेष्ठ छन्।
स्थानीय तहको निर्वाचन आउँदो जेठमा गर्न सत्ता गठबन्धनमा सहमति भने जुटिसेको छ।