काठमाडौँ, ३ माघ । बालिकालाई बलात्कार गरेको अभियोगमा नेपाली कांग्रेस प्रदेश १ समितिका सदस्य पक्राउ परेका छन्। मोरङको बूढीगंगा गाउँपालिका–२ निवासी ५० वर्षीय शिव कोइरालालाई प्रहरीले १० वर्षीया बालिकामाथि बलात्कार आरोपमा आइतबार पक्राउ गरेको हो।
बूढीगंगा गाउँपालिका–२ टंकीसिनुवारी घर भएका कोइरालालाई बालिकामाथि जवरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मञ्जिल मुकारुङले बताए।
पीडित पक्षको जाहेरीका आधारमा कोइरालालाई पक्राउ गरेर अनुसन्धान थालिएको मुकारुङले बताएका छन्। प्रहरी हिरासतमा रहेका कोइरालालाई सोमबार जिल्ला अदालत मोरङमा म्याद थपका लागि पेश गरिएको छ। कोइराला गत मंसिरमा विराटनगरमा सम्पन्न प्रदेश अधिवेशनबाट प्रदेश १ कार्यसमिति सदस्यमा निर्वाचित भएका थिए।