काठमाडौँ, १७ पुस । दाङमा प्रहरीले लागुऔषधसहित ५ जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय (तुलसीपुर) बाट खटिएको टोलीले पुस १५ र १६ गते गरेर लागुऔषधसहित ३ युवती र २ युवकलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेकामा तुलसीपुर उपमहानगरपालिका ५ ९ख० लाइन निवासी १९ वर्षीया मन्दिरा थापा, सोही ठाउँकी १९ वर्षीया दीपु नेपाली, वडा नं. ६ बरुवागाउँका २९ वर्षीय रुद्रमणि पोख्रेल शर्मा, सोही ठाउँकी २४ वर्षीया उर्मिला चौधरी र वडा नं.७ सागरनगर टोल निवासी ३० वर्षीय कैलाश नेपाली छन्।
उनीहरूका साथबाट ५ ग्राम ७१० मिलिग्राम ब्राउनसुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय (दाङ)का डीएसपी मुकुन्द रिजालले जानकारी दिए।
पछिल्लो समय महिला पनि लागुऔषध कारोबारमा संलग्न देखिएको छ। महिला भएकाले चेकजाँच पनि हुँदैन भनेर लागुऔषध ओसारपसारमा लाग्ने गरेको डीएसपी रिजालको भनाइ छ।