धनगढी, १४ पुस । वर्षा तथा हिमपातका कारण लगभग देशभरकै जनवीवन कष्टकर भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला देशका धेरैजसो स्थानमा वर्षा भइरहेको छ भने हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात भइरहेको छ।
वर्षा र हिमपातका कारण ठाउँठाउँमा यातायात बन्द भएको छ भने चिसो बढ्नाले खासगरी हिमाली जिल्लाको जनजीवन निकै कष्टकटर बनेको छ।
यसैबीच आज दिउँसो तथा राति पनि वर्षा र हिमपात जारी रहने सम्भावना रहेकाले होसियारी अपनाउन मौसमविद्ले आम नगारिकलाई आग्रह गरेका छन्।
मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ।
जसमा भनिएको छ, देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना र देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ। यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाईरयातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
मनाङ जिल्लाका सबै गाउँपालिकामा ७२ घण्टादेखि भारी हिमपात भइरहेको छ। आवगमन ठप्प भएको छ भने तापक्रम माइनस २० पुगेपछि जनजीवनमा झनझन् कष्टकर हुँदै गएको छ।
म्याग्दीको तल्लो घोडेपानीमा परेको हिउँ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीयस्थल तल्लो घोडेपानीमा बुधबार बिहान भएको हिमपात। हिमपात र चिसोले म्याग्दीको लेकाली बस्तीको जनजीवन कष्टकर बनेको छ।
रासस