धनगढी, ९ पुस । कैलालीको जानकी गाउँपालिका– ९ का २५ वर्षीय अर्जुन दासको हत्यामा सलग्नलाई कार्बाहीको माग गर्दै स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन्। हत्या प्रकरणमा प्रहरीले संलग्नलाई पक्राउ गर्न नसकेको भन्दै लम्कीमा उनीहरुले राजमार्ग अवरुद्ध पारेका हुन्।
राजमार्ग साझ ४ बजे सम्मका लागि अवरुद्ध रहने संघर्ष समितिका संयोजक ललित परियारले बताए। हत्यामा संलग्नलाई पक्राउ गर्न भन्दै स्थानीय निरन्तर आन्दोलनमा छन्।
दासको हत्याका दोषीलाई तत्काल पक्राउ गरेर कडा सजाय हुनुपर्ने उनीहरुको माग छ। यता, जिल्ला प्रहरी कार्यालय कैलालीले भने केही बेरमा राजमार्ग खोलिने जनाएको छ। राजमार्ग खोल्न प्रयास भइरहेको र चाडै खोलिने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।
गत शुक्रबार साँझ घरबाट हिँडेका अर्जुन दास घाँटी काटिएको अवस्थामा शनिबार स्थानीय अमरावती सामुदायिक वनमा मृत फेला परेका थिए। सो घटनामा संलग्न रहेको आरोपमा एकजना पक्राउ परेका छन् भने अरु तीन जना फरार रहेको प्रहरीले बताएको छ।