धनगढी, २ पुष । बैतडीमा सवारी दुर्घटनामा परी एक महिनामा ११ जनाको मृत्यु भएको छ ।
मंसिर महिनामा मात्रै ११ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीले जनाएको छ। ४ ओटा सवारी दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको र १६ जना घाइते भएको हो ।
कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक आकाश रावलका अनुसार चालकले मादक पदार्थ सेवन गर्नु, तीव्र गतिमा सवारी साधन हाँक्नु, ट्राफिक नियमको उल्लंघन गर्नुलगायतका कारणले सवारी दुर्घटना बढ्दै गएका छन्। पक्की सडकको तुलनामा ग्रामीण कच्ची सडकमा सवारी दुर्घटना बढी हुने गरेको उनले बताए।
जिल्लामा सवारी दुर्घटना बढ्दै गएपछि न्यूनीकरणका लागि ट्राफिक प्रहरीले चेकजाँच बढाई सचेतना अभियान सञ्चालन गरेको रावलले बताए।