धनगढी, २८ मंसिर । धनगढीको कैलाली पुलस्थित टेकराज पनेरुको उग्रतारा ट्रेडिङ हाउसमा चोरी गर्ने क्रममा चार जना पक्राउ परेका छन् । आज विहान ३ बजे कम्प्युटर र ल्यापटप पसलको ताला तोडेर चोरी गरिरहेको अवस्थाबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१ शान्तिनगरका लोकेन्द्रसिंह सामन्त, सोही ठाउँका आलोक चौधरी, बाजुरा बुढीगङ्गा नगरपालिका–८ का विकास नेपाली र शान्तिनगरका विवेक साउँद रहेका छन् ।
सटरको ताला तोडेर चोरी गरिरहेको अवस्थाबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । चारै जनालाई नियन्त्रणमा लिएर चोरी मुद्दा शीर्षकमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको उनले बताए ।