धनगढी, २० मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफूले मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालयले गर्ने खर्चमा मितव्ययिता अपनाएको बताएका छन्। सोमबार मन्त्रालयमा आयोजित नेपाल वायुसेवा निगमलाई अन्तर्राष्ट्रिय उडानमा खतराजन्य पदार्थ आयात तथा निर्यातको अनुमति प्रमाणपत्र जारी गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले आफूले मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालयमा हुने हरेक खर्चमा मितव्ययिता अपनाइएको दावी गरेका हुन्।
आफूले नेपाली ध्वजाबाहक जहाजलाई नाफामा पुर्याउने चाहना राखेको उनले बताए। अहिले नेपाल वायु सेवा निगम घाटामा गएको र ऋणको ब्याजसमेत तिर्न नसकेको भन्दै मन्त्री आलेले निगमलाई कुनैपनि हालतमा माथि उठाउनुपर्ने बताए।
उनले भने, ‘यो ध्वजाबहाक जहाज भनेको यो नेपाली जनताले राजस्व तिरेर, कर तिरेर बनेको यो निगम हो। यसलाई कुनैपनि हालतमा माथि उठाउनै पर्छ। यो मन्त्रालयले हरेक खर्चमा पनि मितव्ययिता अपनाएको छ। हामी चाहान्छौँ कम भन्दा कम खर्चमा नेपाल ध्वजाबाहक जहाज नाफा होस्। फाइदा होस्। अहिलेपनि हामीलाई ५० अरब भन्दा बढी ऋण छ। हामी एकदमै चिन्तित छौँ। ९ प्रतिशत हामीले ब्याज तिरिराख्नु परेको छ। किस्ता हाम्रो ड्यु छ। ब्याज हामीले तिर्न सकेका छैनौँ।
विभिन्न समस्या समाधान गर्नका लागि म यहाँ आएको छु। राम्रो काम गर्दा कतिपय मान्छेहरुले आफ्नो व्यक्तिगत इन्ट्रेष्ट पुरा नहुँदा उनीहरुले विभिन्न मिडियामा लेखाउने कामहरु गरिराखेका छन्। त्यसमा मैले भन्नुपर्ने केही छैन। त्यो त तपाईहरुले आफैँले पनि बुझ्न सक्नुहुन्छ।’