धनगढी, २८ असोज / निर्माण क्षेत्रमा बालश्रमको अन्त्य गर्दै बालबालिकाको अधिकार संरक्षण र सुरक्षित निर्माणस्थल सुनिश्चित गर्न निर्माण व्यवसायीहरूले प्रतिबद्धता जनाएका छन्। बालश्रममुक्त निर्माण कार्यका लागि आफूहरू तयार रहेको बताएका व्यवसायीहरूले सरकारले नै बालमैत्री मापदण्ड पूर्ण रूपमा कार्यान्वयन गर्न नसकेको भन्दै प्रश्नसमेत उठाएका छन्।
‘बालापनको रक्षा, भविष्यको सुरक्षा’ भन्ने नारासहित बुधबार धनगढीमा आयोजित ‘बाल अधिकार प्रवर्द्धनमा निर्माण व्यवसायीहरूको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरूले निर्माण क्षेत्रलाई बालश्रममुक्त बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिएका हुन्।
सामुदायिक विकास केन्द्र (सीडीसी) डोटी तथा साझेदार संस्थाहरूको सहकार्यमा आयोजित कार्यक्रममा निर्माण क्षेत्रमा बालबालिकाले भोग्न सक्ने जोखिम, बालश्रम रोकथाम, सुरक्षित पूर्वाधार निर्माण र बालअधिकार संरक्षणका विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा निर्माण व्यवसायीहरूले आफूहरूले गर्ने निर्माण कार्य बालश्रममुक्त बनाउने प्रयास गरिरहेको भए पनि सरकारले पनि सोहीअनुसारका मापदण्ड कार्यान्वयन गर्नुपर्ने बताएका थिए। बालबालिकाको उमेरअनुसारको जिम्मेवारी र श्रमको परिभाषाबारे पनि स्पष्टता आवश्यक रहेको उनीहरूको भनाइ थियो। विद्यालय जाने बालबालिकाले बोक्ने किताबको भारीलाई समेत उदाहरणका रूपमा प्रस्तुत गर्दै बालबालिकामाथि पर्ने बोझ र श्रमसम्बन्धी अभ्यासबारे ध्यान दिनुपर्ने धारणा उनीहरूले राखेका थिए।
सामुदायिक विकास केन्द्र डोटीका कार्यकारी निर्देशक जोशीले बालमैत्री सुदूरपश्चिम प्रदेश निर्माण गर्ने अभियानमा निर्माण व्यवसायीहरूको भूमिका महत्त्वपूर्ण हुने बताए। निर्माण क्षेत्रलाई बालश्रममुक्त बनाउन व्यवसायीहरू जिम्मेवार भएर अघि बढे बालबालिकाको अधिकार संरक्षणमा उल्लेखनीय योगदान पुग्ने उनको भनाइ थियो। उनले निर्माण व्यवसायीहरूलाई बालअधिकार संरक्षणलाई आफ्नो व्यावसायिक जिम्मेवारीका रूपमा लिन आग्रह गरे।
त्यस्तै, सामुदायिक विकास केन्द्र डोटीका परियोजना व्यवस्थापक तिलक चौधरीले बालमैत्री मापदण्डअनुसार निर्माण कार्य सञ्चालन गर्नुपर्नेमा जोड दिए। निर्माणस्थलमा आवश्यक सुरक्षा सामग्रीको प्रयोग, जोखिम न्यूनीकरणका उपाय अवलम्बन र सबै सरोकारवाला एकजुट भएर काम गरे मात्रै बालबालिकाको अधिकार संरक्षण प्रभावकारी हुने उनले बताए।
मानव अधिकार आयोग, सुदूरपश्चिम प्रदेशका प्रमुख प्रकाशदत्त भट्टले निर्माण व्यवसायीका व्यावसायिक अधिकारको संरक्षणसँगै उनीहरूले कानुनको पालना गर्नु पनि उत्तिकै आवश्यक रहेको बताए। सेवाग्राही र सेवाप्रदायकबीच आपसी सन्तुलन र जिम्मेवारी कायम गर्न सके निर्माण क्षेत्रका धेरै समस्या समाधान गर्न सकिने उनको धारणा थियो।
कार्यक्रममा सामुदायिक विकास केन्द्र डोटीका बालअधिकार संयोजक एकराज बडुले निर्माण व्यवसायीहरूलाई बालअधिकार र बालबालिकाको सुरक्षा सुनिश्चित गर्ने आधारभूत उपायबारे जानकारी गराएका थिए। उनले निर्माणस्थलमा बालबालिकालाई हुन सक्ने जोखिम पहिचान गरी उनीहरूको संरक्षणका लागि आवश्यक सावधानी अपनाउनुपर्ने विषयमा जोड दिएका थिए।
निर्माण व्यवसायी महासंघ, सुदूरपश्चिम प्रदेशका अध्यक्ष लक्ष्मण कुमार स्वारको अध्यक्षतामा सम्पन्न अन्तरक्रियाको अन्त्यमा उनले बालश्रममुक्त निर्माण कार्यका लागि संघ प्रतिबद्ध रहेको बताए। निर्माण गतिविधिमा बालबालिकाको अधिकार संरक्षण गर्ने तथा सुरक्षित निर्माणस्थलको अवधारणालाई व्यवहारमा उतार्ने विषयमा व्यवसायीहरूको प्रतिबद्धता महत्त्वपूर्ण रहेको सहभागीहरूको भनाइ थियो।
कार्यक्रममा निर्माण व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश कार्यसमिति तथा कैलाली जिल्ला समितिका पदाधिकारी, सामाजिक विकास मन्त्रालयका कर्मचारी र विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।