काठमाडौँ, २० कार्तिक । दशौं राष्ट्रिय महाधिवेशन उद्घाटनमा नेकपा एमालेले ५ लाख मानिस सहभागी गराउने गरी तयारी सुरु भइसकेको दाबी गरेको छ ।
एमालेको दशौं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीले मंसिर १० गते नारायणी किनारामा हुने उद्घाटन कार्यक्रममा वाग्मती र त्यस आसपासका प्रदेशबाट मानिस जुटाउने गरी तयारी सुरु गरेको जनाएको हो । एमालेको मुल व्यवस्थापन कमिटीका सह संयोजक सुरेन्द्र पाण्डेले वाग्मती प्रदेशबाट साढे २ लाख मानिस सहभागी गराउने गरी तयारी भएको बताए ।
पाण्डेले प्रदेश २ कमिटीले १ लाख, लुम्बिनीले ७५ हजार, गण्डकी प्रदेशले ५० हजार र प्रदेश १ बाट २५ हजार सहभागी गराउने निर्णय गरेको बताए । एमालेले उद्घाटनको दिन अहिलेसम्मकै सबैभन्दा ठूलो आमसभामा गर्ने बताउँदै आएको छ ।
ुप्रत्येक प्रदेशले बैठकहरु गरेर निश्चित संख्यामा उद्घाटन कार्यक्रममा सहभागी गराउने संख्या निर्धारण गरेको छ ।
वाग्मती प्रदेशले साढे २ लाख सहभागी गराउने गरी काम सुरु गरिसकेको छ । यसमा यो प्रदेश अन्तर्गतको जिल्लाहरु, सम्पर्क मञ्च तथा जनवर्गीय संगठनहरु पनि पर्छन्,ु जन परिचालन समितिको संयोजक समेत रहेका पाण्डेले कान्तिपुरसँग भने,ु वाग्मती प्रदेशका सबै वडामा दशौं राष्ट्रिय महाधिवेशन जनपरिचालन कमिटी गठन गरेको काम अघि बढ्ने छ ।ु
पाण्डेका अनुसार वाग्मती प्रदेशले पनि विभिन्न जिल्लाहरुलाई उद्घाटन कार्यक्रममा सहभागी हुनेहरुको संख्या निर्धारण गरेको छ । जसअनुसार चितवन जिल्लाबाट ७५ हजार काठमाडौं उपत्यकाबाट ५० हजार, मकवानपुरबाट ३० हजार, धादिङ र सम्पर्क मञ्चबाट २५र२५ हजार, सिन्धुलीबाट १५ हजार, नुवाकोट र काभ्रेबाट १०र१० हजार, सिन्धुपाल्चोकबाट ८ हजार, रामेछाप र दोलखाबाट ५र५ हजार र रसुवाबाट १ हजार सहभागी हुने छन् ।
२२ वटा जनवर्गीय संगठनको गत बिहीबार भएको बैठकले केन्द्रीय सदस्य खिमलाल भट्टराईको नेतृत्वमा केन्द्रीय जनपरिचालन समिति गठन गरेको छ ।
वाग्मतीले उद्घाटन कार्यक्रममा सहभागिताका लागि कात्तिक २३ गते काठमाडौंमा भेलाको आयोजना गर्दैछ । महाधिवेशनको उद्घाटन एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने छन् ।