बैतडी,१७ कार्तिक । बाढी प्रभावित क्षेत्रको निरीक्षणका क्रममा बैतडीको ढुंगाड पुगेका कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँडलाई ढुंगाडबासीले ज्ञापनपत्र बुझाएका छन् । बुधबार दिउँसो ढुंगाड पुगेका गृहमन्त्रीलाई स्थानीयहरुले सेतीको बाढीले क्षति पुर्याएकाले आफूहरुको पुनर्वासको व्यवस्था मिलाउन माग गरेका छन् ।
जवाफमा गृहमन्त्री खाँडले बाढी प्रभावित समुदायको सहयोगका लागि सरकारले बिशेष व्यवस्था गर्ने बचन दिएको स्थानीय नरेन्द्र रोकायाले जानकारी दिए ।
गृहमन्त्रीले स्थानीयहरुलाई सम्बोधन गर्दै भने ‘यो क्षेत्रमा बाढी पहिरोले पुर्याएको क्षतिका बिषयमा स्थलगत जानकारी भएको छ । यहाँका नागरिकको पुनस्र्थापनाका लागि बिशेष राहत कोष बनाएर सरकारले काम अघि बढाउँछ ।’
गृहमन्त्रीले प्रभावित क्षेत्रका नागरिकहरुको छिट्टै राहत प्याकेज ल्याउने घोषणा समेत गरेका छन् । उनले भने ‘प्रभावित समुदायका नागरिकको सहयोगका लागि सरकारले राहत प्याकेज घोषणा गरेर अघि बढ्नेछ ।’
पश्चिम सेती आयोजनाको प्रभावित क्षेत्र भन्दै विकासबाट पनि आफूहरु ठगिएको र योजनाबाट पनि ठगिएको स्थानीयहरुले गुनासो गरेका छन् ।
यही कार्तिक पहिलो साता परेको अविरल बर्षाले बैतडीको सिगास गाउँपालिका ५ ढुंगाडमा व्यापक क्षति पुर्याएको । सेती नदीको बाढीले खेत बगाउँदा स्थानीयहरुलाई निकै समस्या भएको छ ।