सरस्वती साफरी
धनगढी,१२ कार्तिक/अघिल्ला वर्षको तिहारको समय हुँदो हो त, यतिबेला धनगढीका व्यापारी अञ्जु चौधरीलाई पसलमा भ्याई–नभ्याई हुन्थ्यो । तिहारको सामाग्री खरिदका लागि आउने ग्राहकको चापले उनी खाना खानेसम्म फुर्सद पाउन्नथिन् । ‘दशैँ–तिहारको समयमा कैयौदिन बिहानको खाना समेत नखाएर पसलका काम गर्नुपथ्र्यो,’ उनी स्मरण गर्छिन् । उनको यस्तो व्यापारमा दुईवर्षयता ‘ग्रहण’ लागेको छ ।
‘अरुबेला त जेसुकै भएपनि दशैँ–तिहारमा त राम्रै व्यापार होला सोचेकी थिए,’ उनि भन्छिन्,‘दशैँ–तिहारमा पनि सोचेजस्तो भएन् । व्यापार एकदम सुख्खा चलिरहेको छ ।’ उनिजस्तै अहिले सुदूरपश्चिम प्रदेशको अस्थायी मूकाम धनगढीका सबैजसो व्यवसायीहरुको दुखेसो छ । दशैँ–तिहारको समयमा पनि व्यापार सोचेजस्तो नभएको अधिकांश व्यवसायीहरुको अनुभव सुनिन्छन् । ‘कोरोना माहामारी सुरुभएदेखी व्यापार त फिटिक्कै छैन् । दशैँ–तिहारमा समेत केही सुधार छैन्,’ धनगढीकै अर्का व्यापारी कबि पुजारा अनुभव सुनाउछन्,‘परारका बर्षको तुलनामा त २० प्रतिशत पनि व्यापार छैन् ।’
पछिल्लो केही समययता कोभिड–१९को संक्रमणदर पनि घट्दै गएको छ । महामारीको प्रकोप घट्दैजाँदा बजारमा भीँडभाँड पनि बढेको छ । यद्यपी व्यापारमा भने कुनै सुधार नआएको व्यवसायीहरुको दुखेसो छ । धनगढीकी व्यवसायी गीता खड्का भन्छिन्,‘भीड जताततैँ व्यापक छ । तर भीडअनुसारको व्यापार छैन् ।’ खाद्यान्न लगायतका दैनिक उपभोग्य सामाग्रीका बिक्रेताहरुको व्यापार भने सामान्य छ । लत्ताकपडा,अन्य विलासिताका सामाग्रीहरु लगायतको व्यापार निकै फितलो छ ।