धनगढी, ७ कार्तिक/बेमौसमी वर्षाले सुदूरपश्चिमका ६ वटा पहाडी जिल्लाको सडक सम्पर्क टुटेपछि आइतबारदेखि धनगढीबाट डोटी र बझाङमा उद्धार उडान सुरु भएको छ । तर, निगमका कर्मचारी त्यहाँ नगइदिँदा आइतबार बझाङमा प्रमखु जिल्ला अधिकारी सीडीओले, धनगढीमा विमानस्थल प्रहरी र कर्मचारीले, डोटीमा एटीसी तथा सुरक्षाकर्मीले यात्रुको नामावली संकलन गर्ने, पैसा लिने, यात्रु जहाजमा चढाउने, सामान लगेज लोड-नअलोड गर्ने काम गरे ।
१३ सय कर्मचारी भएको निगमको धनगढी कार्यालय नियमित उडान रोकिएपछि डेढ वर्षयता बन्द छ । निगमले यस्तोबेला फिल्डमै कर्मचारी खटाउनु पर्ने तर नेपालगन्जबाट ५ जनालाई जहाजमा राखेर पठाएको थियो । उनीहरु साँझ त्यही जहाज चढेर नेपालगन्ज नै फर्किए ।‘निगमको १९ सिट भएको टुइनअटर जहाज आयो । तर यहाँ कर्मचारी नभएकाले प्रहरीले यात्रुहरुको नाम संकलन गर्ने, हामीले सामान राख्ने, जाँचमा सहजीकरण गर्ने, टिकटको पैसा उठाइदिने काम गरिदियौं,’ धनगढी विमानस्थल प्रमुख रामकृष्ण भट्टले भने ।प्रधानमन्त्री शेरबहादुर देउवासँगै बिहीबार बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न गएका पर्यटनमन्त्री प्रेमबहादुर आलेले शनिबार काठमाडौं फर्केर निगमका महाप्रबन्धक डिमप्रसाद पौडेल र नायब महाप्रबन्धक गणेश चन्दलाई तत्काल सडक सम्पर्क टुटेका डोटीको दिपायल र बझाङको चैनपुरमा उडान राख्न निर्देशन दिएका थिए । शनिबारै निगमले उडान तालिका सार्वजनिक गर्यो ।
पर्यटनमन्त्री आलेको सचिवालयले ती क्षेत्रमा त्यहाँ सम्पर्क गर्न यात्रुहरुका लागि नेपालगन्ज विमानस्थलका प्रमुख किरणमान श्रेष्ठसहित लोडमास्टर गोविन्द गिरिसहितको नम्बर फेसबुक पेजबाट शनिबारै सार्वजनिक गर्यो । तर, निगमका कर्मचारीले नागरिलाई विपतमा सघाउनुको बदला फोन अफ गरेका छन् । ‘निगमको धनगढीमा कार्यालय बन्द छ । सडकबाट जान नसकिने भएपछि जहाज चढ्ने यात्रु र बझाङमा सीडीओबीच तनाव भएछ । निगमले जहाजमै राखेर ५ जना कर्मचारी पठाएको थियो । तर उनीहरु दुइटा फ्लाइट सकेर नेपालगन्ज फर्किसके,’ विमानस्थल प्रमुख भट्टले भने, ‘यात्रुहरु निगमको टिकट लिन एयरपोर्ट धाइरहेका छन् । यात्रुको चाप छ । प्रहरीले नाम टिपेर सघाइदिरहेको छ । बझाङ र डोटीमा मैले त्यहाँ रहेका प्राधिकरणका एयर ट्राफिकलाई तत्काललाई हेरीदेउ भनेको छु ।’
भट्टका अनुसार, आइतबार नेपालगन्जबाट आएका कर्मचारीले धनगढीमा यात्रुबाट विमानस्थलमा उठाइएको रकम संकलन गरे । धनगढीबाट बझाङ र डोटीका लागि भएको एकरएक उडानमा एक जना कर्मचारी जहाजमै गए । फर्किए । यी दुई पहाडी भेगको उडान सकिएपछि जहाज ‘नाइट–स्टप’का लागि नेपालगन्ज फर्किने भएपछि बिहान नेपालगन्जबाट उडेका पाँचै जना कर्मचारी नेपालगन्ज फर्किएको भट्टले बताए ।
आइतबार निगमको ‘ब्राभो, युनिफर्म’ टुइनअटर काठमाडौंबाट पठाइएको थियो । नेपालगन्ज पुगेर उक्त विमान कर्मचारी लिई धनगढी गएको थियो । नेपालगन्ज फर्केपछि कार्यालयको नम्बरमा सम्पर्कमा आएका निगमको नेपालगन्ज क्षेत्रीय कार्यालयका प्रमुख किरण मान श्रेष्ठले ‘अति धेरै फोन आएकाले’ मोबाइल अफ गर्नुपरेको बताए ।
जनताको करबाट संचालित १३ सय हाराहारी कर्मचारी भएको निगमले धनगढीबाट करिब २ दशकपछि डोटी र बझाङमा तत्कालका लागि उद्धार उडानमात्रै गर्ने भनेको छ । दुइटा जहाज भएको निगमका कर्मचारीले आइतबार धनगढीमा पुगेपछि ‘प्रधामन्त्री र पर्यटनमन्त्री’को दबाबले उडान राखेकाले आउनु परेको भन्दै यात्रुलाई सहजीकरण गर्न पनि आनकानी गरेको धनगढी विमानस्थल प्रमुख भट्टले बताए । आइतबार बझाङ र डोटी उडानमा निगमको जहाजमा दुबै तर्फका उडानमा सिट खाली थिएनन् ।