धनगढी,२ कार्तिक । डोटीको सेती नदीमाथिको पक्की पुल जोखिममा परेको छ।
तीन दिनदेखिको वर्षाका कारण नदीमा पानीको बहाव एकाएक बढेपछि पुल जोखिममा परेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। कार्यालयले जारी गरेको बुलेटिनअनुसार पुलमा आवागमन बन्द गरिएको छ।
नदी आसपासका बस्तीमा खतरा बढेको भन्दै सचेत रहन जिल्ला प्रशासन कार्यालयले सबै नागरिकलाई आग्रह गरेको छ। यस्तै सेती नदीमा आएको बाढी बस्ती पसेको छ।
दिपायलस्थित सेती नदी र द्वारीखोलाको तटमा रहेका दक्षिणकाली वर्कसप, डोटी चेम्बरको नव निर्मित भवन, दिल्पेश्वर माविको भवन, महादेव मन्दिरलगायत संरचना डुबानमा परिसकेका छन्। दक्षिणकाली वर्कसपमा राखिएका दुईवटा बोलेरो जिप पनि डुबेका छन्।
दिपायल सिलगढी नगरपालिका–३ का वडाध्यक्ष चक्र माझीले वडा नं २ र ३ को सिमानामा पर्ने पुल बजारमा सेती नदी पसेर बस्ती जोखिममा परेको बताए।
