धनगढी, २३ असोज / कैलालीको धनगढी क्षेत्रलगायत आसपासका औद्योगिक तथा व्यावसायिक क्षेत्रमा विद्युत् आपूर्ति अनियमित हुँदा उद्योग–व्यवसाय सञ्चालनमा समस्या भइरहेको भन्दै कैलाली उद्योग वाणिज्य संघले नेपाल विद्युत् प्राधिकरणको ध्यानाकर्षण गराएको छ ।
पटक–पटक विद्युत् अवरुद्ध हुने र भोल्टेजमा उतारचढाव आउने समस्याले उद्योगको उत्पादनदेखि व्यावसायिक सेवासम्म प्रभावित भइरहेको भन्दै संघले विद्युत् आपूर्ति नियमित, भरपर्दो र गुणस्तरीय बनाउन माग गरेको हो ।
संघका अध्यक्ष पुष्कर राज ओझाद्वारा हस्ताक्षरित पत्रमार्फत नेपाल विद्युत् प्राधिकरण, धनगढी वितरण केन्द्रलाई विद्युत् आपूर्तिमा देखिएका समस्या तत्काल समाधान गर्न आग्रह गरिएको छ ।
विद्युत् उद्योग तथा व्यवसाय सञ्चालनको अत्यावश्यक पूर्वाधार भए पनि आपूर्तिमा हुने अनियमितताले उत्पादन प्रक्रिया अवरुद्ध हुनुका साथै विद्युतीय उपकरण तथा मेसिनरीमा क्षति पुग्ने, उत्पादन लागत बढ्ने र श्रम तथा समयको नोक्सानी हुने गरेको संघले जनाएको छ । यसले समग्र व्यावसायिक गतिविधिमा नकारात्मक प्रभाव पारिरहेको उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष पुष्करराज ओझाको भनाइ छ।
विशेषगरी निरन्तर विद्युत् आवश्यक पर्ने उद्योग, उत्पादनमूलक प्रतिष्ठान, होटल, अस्पताल, चिस्यान केन्द्र, सूचना प्रविधि तथा अन्य सेवा व्यवसाय विद्युत् आपूर्तिको समस्याबाट बढी प्रभावित भइरहेको संघले उल्लेख गरेको छ ।
विद्युत् आपूर्तिको गुणस्तर र निरन्तरतासँग उद्योग–व्यवसायको उत्पादकत्व, प्रतिस्पर्धात्मक क्षमता र लगानीको वातावरण प्रत्यक्ष रूपमा जोडिएकाले समस्यालाई प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने संघको माग छ ।
संघले धनगढी क्षेत्र तथा औद्योगिक करिडोरमा नियमित र भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न, पटक–पटक हुने अनियोजित विद्युत् कटौती न्यूनीकरण गर्न आवश्यक प्राविधिक सुधार तथा मर्मतसम्भार गर्न र भोल्टेजमा हुने उतारचढाव नियन्त्रण गर्न प्राधिकरणसँग आग्रह गरेको छ ।
त्यस्तै, प्राविधिक कारणले विद्युत् आपूर्ति अवरुद्ध गर्नुपर्ने अवस्था आएमा सम्भव भएसम्म पूर्वसूचना दिन र निर्धारित समयतालिकामार्फत सम्बन्धित उद्योग–व्यवसायलाई जानकारी गराउने व्यवस्था मिलाउनसमेत संघले माग गरेको छ ।
विद्युत् आपूर्तिको नियमितता र गुणस्तर उद्योग–व्यवसायको विकास, रोजगारी सिर्जना, लगानी प्रवर्द्धन तथा समग्र आर्थिक गतिविधिका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै संघले समस्यालाई गम्भीरतापूर्वक लिएर यथाशीघ्र सुधारात्मक कदम चाल्न प्राधिकरणसँग अनुरोध गरेको छ ।
यस विषयमा सम्बन्धित निकाय र निजी क्षेत्रबीच आवश्यक छलफल तथा समन्वयका लागि संघ सहकार्य गर्न तयार रहेको अध्यक्ष ओझाद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।
संघले उक्त पत्रको बोधार्थ नेपाल विद्युत् प्राधिकरणको सुदूरपश्चिम प्रदेश कार्यालय, अत्तरियालाई समेत दिएको छ ।