शेरबहादुर ऐर,धनगढी १ कार्तिक/सुदूरपश्चिम प्रदेशको गेटा आँखा अस्पतालमा सेवा लिने सेवाग्राहीको संख्या घटेको छ ।कोरोना महामारीसंगै सीमानाका बन्द भएपछि आँखा अस्पतालमा आउने सेवाग्राहीको संख्या घटेको हो । प्रदेशका तथा भारतका विभिन्न स्थानका नागरिकले सेवा लिदै आएको अस्पतालमा कोरोना महामारीका कारण सेवाग्राही घटेको अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक रमेशचन्द्र भट्टले बताए ।
पछिल्लो समय आँखा अस्पतालभन्दा पनि अन्य सेवा केन्द्र र शिविरमा सेवा लिनेका संख्यामा सुधार हुँदै गएको छ । भारतीय नागरिकहरु गेटा आँखा अस्पतालमा चेकजाँच गर्थे भने प्रदेशभरीका नागरिक आफूलाई सहज लाग्ने ठाउमा गरिरहेका छन ।आर्थिक वर्ष २०७५÷७६ मा आँखा अस्पताल बाहेकका अन्य केन्द्रबाट एक लाख १६ हजार आठ सय ४९ जनाले सेवा लिएका थिए भने आर्थिक वर्ष २०७६÷७७ मा ९९ हजार सात सय ८४ थियो । अहिले सो संख्या बढेर एक लाख आठ सय ६३ पुगेको छ ।
भारतको नैनीताल, लखनउ, पिलिभित, पलिया लगायतका स्थानबाट आँखाका विरामी गेटा आँखा अस्पतालमा उपचारका लागि आउने गरेको अस्पतालका बाह्य व्यवस्थापक रमेशचन्द्र भट्टले बताए ।उनले गेटा आँखा अस्पतालले उत्कृष्ट सेवा दिने गरेका कारण भारत लगायत नेपालका धेरै स्थानबाट विरामी आउने गरेको बताए । गेटा आँखा अस्पतालमा उपचार सेवा लिनेमा भारतीय नागरिकको संख्या उल्लेख्य थियो । आँखा अस्पताल प्रशासनका अनुसार ४६ प्रतिशत भारतीय नागरिकले उपचार सेवा लिने गरेका थिए ।
गेटा आँखा अस्पतालको तथ्यांकअनुसार आर्थिक वर्ष २०७३÷०७४ मा एक लाख दुई हजार तीन सय ३५ जना आँखाका विरामीले अस्पतालबाट सेवा लिएका थिए । तीमध्ये ४६ हजार ५० जना भारतीय नागरिक रहेका थिए ।
महामारीले शिविर पनि प्रभावित
गेटा आँखा अस्पतालमा सेवाग्रहीको संख्या घट्दै गएपछि आँखा शिविरलाई जोड दिइएको थियो । कोरोना महामारीसंगै सो शिविर पनि प्रभावित भएको छ ।
आर्थिक वर्ष २०७६÷७७ मा १९ हजार पाच सय ४१ जना शिविरबाट लाभान्वित भएकोमा आर्थिक वर्ष २०७७÷७८ मा दुई हजार चार सय १० जना लाभान्वित भएका छन ।
गेटा आँखा अस्पतालका अनुसार अहिले शिविर र अस्पतालमा आउने सेवाग्राही घटेसंगै अस्पताल तथा मातहातका कार्यालयबाट सेवा लिनको संख्या घटेको हो ।
वार्षिक एक लाख बराबर सेवाग्राहीलाई सेवा गर्दै आएको आँखा अस्पतालमा आर्थिक वर्ष २०७७÷७८ मा ६२ हजार दुई सय १७ जनाले सेवा लिएका छन । गेटा आँखा अस्पतालले दिएको तथ्याँक अनुसार आर्थिक वर्ष २०७७÷७८ मा एक लाख ७३ हजार दुई सय ६० हजारले सेवा लिएका छन । आर्थिक वर्ष २०७६÷७७ मा एक लाख ९३ हजार छ सय चार जनाले सेवा लिएका थिए ।
आर्थिक वर्ष २०७५÷७६ मा दुई लाख ५२ हजार तीन सय ५२ जनाले सेवा लिएका थिए । गेटा आँखा अस्पतालले अहिले सेवाग्राही बढाउन आँखा शिविरलाई जोड दिएको बाह्य कार्यक्रम व्यवस्थापक रमेशचन्द्र भट्टले जानकारी दिए ।