धनगढी, ३ असोज । समाजसेवी हेमराज ओझालाई संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनसेवा श्री पदबाट विभूषण गरिने भएको छ। संविधान दिवसको अवसरमा नेपाल सरकारले राष्ट्रिय जीवनका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायतका क्षेत्रमा विशिष्ट योगदान पुर्याउने नेपाली नागरिकलाई सम्मान स्वरुप विभिन्न विभूषणहरु प्रदान गरिने प्रावधान रहेको छ।
सोही अनुसार समाजसेवा क्षेत्रमा विशिष्ट योगदान गरेको भन्दै समाजसेवी ओझालाई जनसेवी श्री विभूषण प्रदान गरिन भएको हो। नेपाली कांग्रेसका महासमिति सदस्यसमेत रहेको ओझाले कोरोना महामारीको समयमा आफ्नो जीवनलाई नै जोखिममा पारेर कोरोना संक्रमितको उद्धार र उपचारका खटिएका थिए।
उनले भारतका विभिन्न क्षेत्रका कोरोना संक्रमणको त्रासमा स्वदेश फर्किएका नेपाली नागरिकहरुको उद्धार र सहयोगमा पनि दिनरात खटिएका थिए।
सुदूरपश्चिमका विभिन्न जिल्लाबाट कोरोना संक्रमण भइ सेती र अन्य अस्पतालहरुमा उपचाररहत बिरामीहरुका लागि प्राण वायु अक्सिजनको चरम अभाव भएको भएको समयमा व्यक्तिगत खर्चमा अक्सिजन उपलब्ध गराउने, बिरामीको हेरचाह गर्ने, औषधिउपचारका लागि सहयोग गर्ने गरेका थिए।
ओझाले कोरोना कालका समयमा बिरामीहरुलाई मात्र नभएर खानाको समेत समस्या भएकाहरुलाई खाना उपलब्ध गराउने, कोरोनाबाट जोगिनका लागि स्वास्थ्य सामग्रीहरु सहयोग गर्नेसमेत गरेका थिए। उनले कोरोनाकाल र त्यसअघि पनि गर्दै आएको समाजसेवालाई उच्च कदर गर्दै सरकारले जनसेवा श्रीबाट विभूषण गर्ने घोषणा गरेको हो।
