धनगढी, १९ असोज/बालबालिका तथा किशोरकिशोरीमा देखिने मानसिक स्वास्थ्यसम्बन्धी समस्या समयमै पहिचान र व्यवस्थापन गर्न कैलालीका चार स्थानीय तहका स्वास्थ्यकर्मीलाई पाँच दिने तालिम प्रदान गरिएको छ ।
कैलालीका चार पालिकाका स्वास्थ्यकर्मीलाई बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य बिषयमा बिज्ञ तयार पारिएको छ । पछिल्लो समयमा देखिन थालेको मानसिक स्वास्थ्य सम्बन्धी घटना आउन थालेपछि सिविन नेपाल–बाल हेल्पलाइन धनगढीले बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य सेवामा पहुँच र सेवा सुधार गर्ने उद्देश्यले तालिम सञ्चालन गरेको हो ।
पछिल्लो समय बालबालिका तथा किशोरकिशोरीमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिने क्रम बढ्दै गएपछि स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले “Mental Health Matters” परियोजना अन्तरगत तालिम आयोजना गरिएको आयोजकले जनाएको छ ।
तालिममा धनगढी उपमहानगरपालिका, कैलारी गाउँपालिका, भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाका स्वास्थ्यकर्मी सहभागी भएका थिए। सहभागीलाई बालबालिका तथा किशोरकिशोरीमा देखिने मानसिक स्वास्थ्य समस्याको पहिचान, प्रारम्भिक व्यवस्थापन, मनोसामाजिक सहयोग तथा आवश्यक अवस्थामा विशेषज्ञ सेवाका लागि रेफरल गर्ने प्रक्रियाबारे सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिएको सिविन नेपाल कैलालीकी मनोचिकित्सा नर्स ममता धामीले जानकारी दिईन् ।
तालिमले स्थानीय तहका स्वास्थ्य संस्थाबाटै बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्यसम्बन्धी समस्या पहिचान गरी आवश्यक प्रारम्भिक सहयोग उपलब्ध गराउन स्वास्थ्यकर्मीको क्षमता बढाउने अपेक्षा गरिएको छ। तालिममा पाटन अस्पतालका बालबालिका तथा किशोर किशोरी मनोचिकित्सक डा. अमृत झा र स्वीकृति कर्मचारीले सहजीकरण गरेका थिए।
सिविन नेपाल–बाल हेल्पलाइन धनगढीका हरिलाल चौधरीले तालिमपछि सहभागी स्वास्थ्यकर्मीले आफ्नो कार्यक्षेत्रमा बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्यसम्बन्धी समस्या पहिचान, प्रारम्भिक व्यवस्थापन र आवश्यक सेवाका लागि प्रेषणमा थप प्रभावकारी भूमिका निर्वाह गर्ने बताए।
बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य सेवाको पहुँच र गुणस्तर सुधार कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको तालिम असोज १४ गतेदेखि धनगढीमा सुरु भएको थियो। पाँच दिनसम्म सञ्चालन भएको तालिम असोज १८ गते सम्पन्न भएको हो ।जिल्ला समन्वय समितिकी संसयोजक टिका चौधरीको प्रमुख आथित्यमा भएको समापन कार्यक्रममाको अध्यक्षता सिविन नेपालका कैलाली संयोजक हिरालाल चौधरीले गरेका थिए । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश कुँवर बिशिष्ठ अतिथी रहेका थिए । सिविन नेपाल कैलालीकी मनोसामाजिक परामर्शदाता पशुपति खातीले कार्यक्रम संचालन गरेकी थिईन् ।