धनगढी, ३१ भदौ । कोभिड–१९ का कारण गतवर्ष देखि नेपाल–भारत सीमा बन्द रहेको भए पनि धनगढीमा रहेको एकमात्र क्यासिनो भने चालू अवस्थामा रहेको पाइएको छ । बन्द रहेको क्यासिनो गत भाद्र २१ गतेदेखि सञ्चालनमा आएको हो ।
अत्यावश्यक काम बाहेक नेपाल(भारत आवातजावत बन्द रहेको भए पनि धनगढीस्थित साथी होटलमा रहेको किंग्स लाउन्ज ग्यामिङ्ग क्यासिनो भने निर्वाध चालू रहेको छ ।
नेपालमै ब्यापार व्यवसाय गरिरहेका भारतीय मुलका नेपालीहरू क्यासिनोको मुख्य ग्राहक रहेका छन् भने भारतीय सीमावर्ती बजार पलियाबाट समेत क्यासिनो खेल्न आउने गरेको बताइएको छ ।
क्यासिनो सञ्चालकले प्रहरी प्रशासनलाई आफूले मिलाइसकेको भन्दै खेल्न आउन भारतीय व्यापारीहरूलाई बताउदै आएका एकजना व्यापारीले बताए ।
कोभिड(१९ का नेपाल सरकारले नै बन्द गरेको क्यासिनो व्यवसाय सञ्चालनमा रहेको बारे जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख विश्व अधिकारीले हाल सबै व्यवसाय खोल्ने भनेकोले क्यासिनो पनि खोलेको हुनुपर्ने बताए । उनले यस बारेमा प्रमुख जिल्ला अधिकारीसँग समन्वय गर्न आग्रह गरे ।
कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले सबै पेशा व्यवसाय खुल्ला गरिएकोले क्यासिनोको छुट्टै निर्णय बारे आफूलाई जानकारी नभएको बताए । उता महेन्द्रनगरमा रहेको डाइमन्ड क्यासिनो क्लब र सिएमजी क्लब भने बन्द नै रहेका छन् ।
काठमाडौका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले भने क्यासिनो खोल्ने विषयमा कुनै निर्णय नभएको बताए । उनले छिट्टै यसबारे निर्णय गरिने प्रतिक्रिया दिए ।
