धनगढी,५ भदौ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ बीच भेटवार्ता भएको छ। संघीय सत्ता गठबन्धन जस्तै प्रदेश सरकार पनि गठन हुने र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व परिवर्तन हुने खालका समाचार बाहिरीएका बेला शनिबार मुख्यमन्त्री भट्टले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटघाट गरेका हुन् ।
मुख्यमन्त्री भट्ट सगै भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीको समेत उपस्थिती थियो। मन्त्री सोडारी एमालेवाट बिद्धोह गरी नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गरेका माधव नेपाल पक्षका नेता हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले सुदूरपश्चिम प्रदेशमा सरकारको नेतृत्व परिवर्तन नहुने बताएको बुझिएको छ ।
सुरुमा संघीय मन्त्रिमण्डल विस्तार हुने र त्यसपछि प्रदेश सरकारको नेतृत्व माओवादीले नै गर्ने वा अन्य पार्टीले गर्नेबारे निर्णय हुने भेटवार्तामा सहभागी एक नेताले बताए । यता माओवादीले नेतृत्व गर्दै आएको प्रदेश सरकार अब काँग्रेसले नेतृत्व गर्ने सहमती भईसकेको बुझिएको छ ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा अहिले ५२ सदस्य छन्। तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले माओवादी परित्याग गरेपछि पार्टीको सिफारिसमा पदमुक्त भएपछि प्रदेशसभामा ५२ जना सांसद छन्।
उनीहरूमध्ये तत्कालिन नेकपा एमालेका २५, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टीका दुई जना प्रदेशसभा सदस्य छन्।