धनगढी ४ असार/ कञ्चनपुरमा प्रहरीले झण्डै २६ लाख रुपैयाँ बराबरको अवैध केराउ बरामद गरेको छ ।सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआईटी), जिल्ला प्रहरी कार्यालय र मातहतबाट खटिएको संयुक्त टोलीले बेलौरी नगरपालिका–२ स्थित भारतीय सीमा क्षेबाट भन्सार छली गरेर ल्याएको ६ सय ६० कठ्ठा केराउ बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले सुदूरपश्चिम प्रदेश ०१–००२ त ४७०९ र से १ त ५४६५ नम्बरको ट्याक्टरमा लोड गरेर ल्याएको अवस्थामा २५ लाख ९० हजार रुपैयाँ बराबरको केराउ बरामद गरिएको जानकारी दिए ।बेवारिसे अवस्थामा भेटिएको केराउ आवश्यक कारवाहीका लागि त्रिनगर भन्सार कार्यालय कैलालीमा बुझाइएको प्रहरी नायब उपरीक्षक थापाले बताए । कैलाली र कञ्चनपुरका सीमा नाकाबाट ठूलो परिणाममा केराउ तस्करी हुने गरेको प्रहरीले बताउँदै आएको छ ।
गत वर्ष धनगढी उपमहानगरपालिकाको जुगेडामा अस्थायी प्रहरी पोष्टका इन्चार्जसहित दुई जना प्रहरीको हत्या गरिएको थियो । केराउ तस्करी रोक्न खोज्दा नै प्रहरीको हत्या गरिएको अनुसन्धानबाट खुलेको थियो ।