धनगढी, ३ असार/सुदूरपश्चिम प्रदेश सरकारले सवारी साधनको वार्षिक कर निर्धारण गरेको छ । प्रदेशले कार, जिप, भ्यान तथा माइक्रोबस मोटरसाईकलको सवारीसाधन कर सीसीका आधारमा तय गरेको हो ।जसमा मोटरसाइकलमा १२५ सीसीसम्मको २५ सय, १२६ देखि १५० सीसीसम्मको हकमा ४५ सय, १५१ देखि २५० सीसीसम्मको हकमा ५५ सय, २५१ देखि ४०० सीसीसम्मको हकमा आठ हजार र ४०१ सीसीभन्दा माथिको हकमा नौ हजार रुपैयाँ वार्षिक कर तय गरेको छ ।
एक हजार सीसीसम्मको १९ हजार रुपैयाँ, १००१ सीसीदेखि १५०० सीसीसम्मको हकमा २१ हजार, १५०१ देखि दुई हजारसम्मको २३ हजार, २००१ देखि २५०० सीसीसम्मका सवारीलाई ३२ हजार रुपैयाँ, २५०१ देखि २९०० सीसीसम्मको ३७ हजार र २९०१ देखि माथिको हकमा ५३ हजार रुपैयाँ सवारीसाधन कर तय गरेको छ ।
यसैगरी डोजर, एक्साभेटर, लोडर, रोलर, ट्रिपर र क्रेनजस्ता मेसिनरी उपकरणको ३५ हजार रुपैयाँ र मिनीट्रिपरको २५ हजार रुपैयाँ सवारी कर तोकिएको छ। साथै, ट्र्याक्टरको चार हजार, पावर टिलरको एक हजार, मिनिट्रक÷मिनिबसको २० हजार र ट्रक÷बसको ३० हजार रुपैयाँ वार्षिक कर तोकेको छ ।
यसैगरी सार्वजनिक सवारीसाधनको रुपमा प्रयोग हुने कार, जिप, भ्यान र माइक्रो बसको हकमा १३०० सीसीसम्म आठ हजार रुपैयाँ, १३०१ देखि २००० सीसीसम्म १० हजार, २००१ देखि २९०० सीसीसम्मको हकमा ११ हजार, २९०१ देखि चार हजार सीसीसम्मको हकमा १३ हजार रुपैयाँ र ४००१ सीसीभन्दा माथिको हकमा १५ हजार रुपैयाँ वार्षिक सवारीसाधन कर तय गरिएको छ ।यसैगरी सार्वजनिक सवारीसाधनकै रुपमा प्रयोग हुने डोजर, एक्साभेटर, लोडर, रोलर, ट्रिपर, क्रेन मेसिनरी उपकरणको १५ हजार, ट्र्याक्टरको एक हजार ५००, पावर टेलरको एक हजार, मिनिट्रक÷मिनिबसको १० हजार, ट्रक÷बसको १६ हजार र मिनिट्रिपरको १२ हजार रुपैयाँ सवारीसाधन कर तोकिएको छ ।