धनगढी २६ जेठ/ सुदूरपश्चिम प्रदेशको डोटी र डडेल्धुरा जिल्लाको विभिन्न १२ स्थानमा सरकारले ढुंगा, बालुवा, गिट्टी उत्खनन् गर्न महाभारत पर्वत श्रृंखलामा खानी सञ्चालन गर्ने भएको छ।डोटीको जोरायल गाउँपालिका वडा नम्बर २ को रुबसकाँडा डाँडाको ६ स्थान र डडेल्धुराको परशुराम नगरपालिकाको १, २, ३ र ४ नम्बर वडाको विभिन्न ६ स्थान गरी १२ ठाउँमा खानी सञ्चालन गर्ने सरकारी योजना छ।
स्थानीय तहमा भने ढुंगा, बालुवा र गिट्टी उत्खनन् गर्ने सरकारी घोषणको विरोध हुन थालेको छ। तर भूगर्वशास्त्रीहरुले भने खानी सञ्चालन गर्दैमा सबथोक खत्तम नहुने भन्दै सरकारी नीतिको बचाउ गरेका छन्। सरकारले आगामी आर्थिक वर्षबाट ढुंगा, गिट्टी, बालुवा उत्खनन् गरेर निर्यात समेत गर्ने र व्यापार घाटा कम गर्ने योजना अगाडि सारेको छ।यही योजना अन्तरगत सरकारले सुदूरपश्चिम प्रदेशको डोटी जिल्लाको जोरायल गाउँपालिका वडा नम्बर २ को रुबसकाँडाको ६ स्थान र डडेल्धुराको परशुराम नगरपालिकाको ६ स्थानमा महाभारत उत्खनन् गरेर खानी सञ्चालन गर्ने भएको हो।
तराई र चुरेमा मात्रै सीमित रहेको प्राकृतिक दोहन महाभारत पर्वतको उकालो लागेको भन्दै स्थानीयले चिन्तासँगै सरकारको यो कार्यको विरोध गर्न थालेको डोटीको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गाप्रसाद ओझाले बताए। “स्थानीय पालिका र स्थानीयवासीलाई जानकारी नै नदिएर जोरायल गाउँपालिकाको वडा नम्बर २ को रुबसकाँडामा खानी सञ्चालन गर्ने सरकारको तयारी गलत छ” अध्यक्ष ओझाले भने, “वन क्षेत्र र छहरा झरना रहेको सो ठाउँमा ढुंगा, बालुवा र गिट्टी उत्खनन् गर्ने सरकारी योजनाको सबैले विरोध गर्न थालेका छन्।”
डडेल्धुराको जोगबुढा क्षेत्रको महाभारत पर्वतको पनि विभिन्न ६ ठाउँमा सरकारले खानी सञ्चालन गर्ने भएको छ। परशुराम नगरपालिकाको मार्कु, चाँकी, तोडिना, कटाल, सिमल्टा, गोगन डाँडो र सलुन डाँडोमा खानी सञ्चालन गर्ने सरकारी योजना छ। सरकारले तोकेकै ठाउँमा महाभारत पर्वत श्रृखलाको दोहन भए दर्जनौ गाउँबस्ती, बाढी–पहिरो, तथा कटानको चपेटामा पर्ने जोखिम रहेको जोगबुढाका स्थानीयको दाबी छ।“महाभारतको उक्त स्थानहरुमा सरकारी जंगल र पानीका स्रोत समेत रहेकोले खानी सञ्चालन गर्दा फाइदाभन्दा जोखिम धेरै हुने संम्भावना छ” परशुराम नगरपालिका वडा नम्बर १२ का अध्यक्ष गणेशप्रसाद जोशीले भने, “डाँडामाथि उत्खनन् गर्दा रंगुन नदी, शीर्ष गाड र कलेना खोलामा बाढी तथा पहिरोको प्रकोप बढ्ने संम्भावना छ।”
नेपालको चुरे, महाभारत तथा हिमालय पर्वत श्रृखलाको निर्माण संवेदनशील रहेको भूगार्भशास्त्रीहरुले बताउने गरेका छन्। पहाडबाट मात्रै नभइ खोला नदीबाट समेत जथाभावी ढुंगा, बालुवा र गिट्टी निकाल्दा पर्यावरणमा समस्या देखिएतापनि महाभारत पर्वतबाट अध्ययन गरेर संरक्षणका योजनासहित खानी सञ्चालन गरिए समस्या नहुने बताइएको छ।उत्खनन्सँगै संरक्षणको कार्य गरिए पहाडमा खानी सञ्चालन गर्दैमा सबथोक खत्तम नहुने भूगर्भशास्त्री कविराज पौडेल बताउँछन्।
सरकारले सुदूरपश्चिम प्रदेशका डोटी र डडेल्धुरासहित देशभरमा विभिन्न १४ जिल्लाका ९२ स्थानबाट ढुंगा, गिट्टी र बालुवा उत्खनन्को योजना ल्याएको छ। तर डाँडाकाँडा काटेपछि पहाडमा पहिरो र तराईमा बाढीले विनास निम्त्याउने भन्दै सरकारको यो योजनाको विरोध हुन थालेको छ।