काठमाडौंः सरकारले आज आउँदो आर्थिक वर्ष २०७८ र ७९ को लागि बजेट सार्वजनिक गर्दैछ। राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश जारी भएपछि अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेट सार्वजनिक गर्ने छन् । बजेट प्रधानमन्त्री कार्यालयबाट अपराह्न चार बजे सार्वजनिक हुने अर्थ मन्त्रीका प्रेस सल्लाहकार भुवन केसीले जानकारी दिए ।
स्रोतका अनुसार कोरोना महामारीबीच आगामी आवका लागि ल्याइने बजेटको सिलिङ १६ खर्ब हाराहारी रहेको छ । चुनाव घोषणा गरेको सरकारले मतदाता आकर्षित गर्ने र वितरणमुखी कार्यक्रम बजेटमा राख्न नपाउने विज्ञहरुले भन्दै आएका छन् । तर सरकारले सामाजिक सुरक्षा भत्ता र कर्मचारीको तलब वृद्धि लगायतका कार्यक्रम समेट्ने आंकलन गरिएको छ । यस्तै कोरोनाविरुद्धको खोप खरिद्, स्वास्थ्य संरचना सुधार, महामारीबाट समस्यामा परेको निजी क्षेत्रलाई राहत, ठूला आयोजनाको निरन्तरता लगायतका विषय बजेटमा समेट्ने तयारी छ ।
बजेट सार्वजनिक गर्ने कार्यक्रममा प्रधानमन्त्री, मन्त्रिपरिषदका सदस्य, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, गभर्नरलगायत सहभागी हुनेछन् ।