धनगढी: सुदूरपश्चिममा कोभिड–१९ महामारीको सँक्रमण दर बढेसँगै अक्सिजन अभावमा नागरिकको ज्यान जान थालेको छ ।त्यसलाई नियन्त्रण गर्न कैलालीको लम्कीचुहा अस्पतालमा ५० लाख बराबरको मिनि अक्सिजन प्लान्ट जडान गरिने भएको छ।
नगरपालिका र सुदुरपश्चिम सरकारको सामाजिक विकास मन्त्रालय विच आज प्लान्ट जडान गर्ने बिषयमा सम्झौता भएको नगरपालिकाले जनाएको छ ।
कैलालीको पूर्वि क्षेत्रमा अक्सिजनको अभाव हुंदा विगत केही दिन यता नागरिकको ज्यान जाने क्रम बढे संगै लम्कीचुहा नगरपालिकाले सामाजिक विकास मन्त्रालयलाई अक्सीजन प्लान्ट जडानका लागि आवश्यक बजेट विनियोजनको माग गर्दै अनुरोध सहित पत्राचार गरेको थियो । सामाजिक विकास मन्त्री कृष्ण राज सुवेदीले जडान कार्य सुरुवातका लागि १५ लाख विनियोजन गर्ने निर्णय भएको बताए ।
प्लान्टबाट दैनिक ५० सिलिण्डर फिल हुने बताईएको छ । लम्कीचुहा र यस आसपासका नागरिकहरुले अव अक्सीजनको अभावमा ज्यान गुमाउन नपर्ने लम्कीचुहा नगरपालिका सचिवालय प्रमुख धनन्जय न्यौपानेले बताए । छिटो उत्पादन कार्य थालनी हुने समेत न्यौपानेले बताए ।